हेटौँडा : मकवानपुरका हेटौँडा र मनहरीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ३ जना घाइते भएका छन् । बुधबार भएको दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् भने दुई जना घाइते भएका बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।

पूर्व–पश्चिम राजमार्गस्थित हेटौँडा–१९ सान्नानटारस्थित ट्रक र मोटरसाइकल ठोक्किँदा एक जना गम्भीर घाइते भएका छन् । बुधबार बिहान १० बजेर ५० मिनेटको समयमा मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको बा.प्र.०३–००१ ख २६५२ नम्बरको आइचर ट्रकको स्टेयरिङ टाइरट फुस्किँएर अनियन्त्रित भई सोही दिशाबाट आउँदै गरेको बा.प्र.०२–०६५ प १५५२ नम्बरको बुलेट मोटरसाइकललाई छोएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक तनहुँ जिल्लाको व्यास नगरपालिका–६ घर भई हाल नेपाली सेनाको रुरु भैरव गण, सुनाचुरी मकवानपुरमा कार्यरत २६ वर्षीय प्युठ सुमन श्रेष्ठ गम्भीर घाइते भएका छन् । श्रेष्ठको सीएमसी चुरेहिल अस्पताल हेटौंडामा प्रारम्भिक उपचार पश्चात थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौंस्थित छाउनी अस्पताल पठाइएको छ । ट्रक चालक भक्तपुर जिल्लाको भक्तपुर नगरपालिका–४ का ४६ वर्षीय पूर्ण गोपाल नुछेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पूर्व–पश्चिम राजमार्गस्थित मकवानपुरको मनहरी गाउँपालिका–६ नयाँबस्तीस्थित मोटरसाइकल र ट्याङ्कर ठोक्किँदा दुई जना घाइते भएका छन् । बुधबार बिहान ११ बजेको समयमा मनहरीबाट चितवनतर्फ जाँदै गरेको मधेस प्रदेश ०३–०४० प ९४६९ नम्बरको मोटरसाइकलले ओभरटेक गर्ने क्रममा विपरीत दिशाबाट आउँदै गरेको ना ७ ख ४६६० नम्बरको खाली ट्याङ्करसँग ठक्कर खाएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक रौतहट जिल्लाको गुजरा नगरपालिका–४ कनकपुरका २६ वर्षीय शेष असफाक र पछाडि सवार २३ वर्षीय महमद इशाद घाइते भएका छन् । घाइते दुवैका चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचार भई रहेको छ । ट्याङ्कर र चालक नवलपरासी गैँडाकोट नगरपालिका–१ भेडावारीको ४३ वर्षीय किरण चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।