हेटौँडाः दोस्रो बृहत् खेलकुद, कृषि तथा पर्यटन महोत्सव–२०८२ अन्तर्गत प्रथम राष्ट्रिय आमन्त्रण तेक्वान्दो प्रतियोगिता सुरु भएको छ । जिल्ला खेलकुद विकास समिति मकवानपुरको आयोजना तथा मकवानपुर जिल्ला तेक्वान्दो संघको व्यवस्थापनमा हेटौँडा–१० टिसिएन चौरमा प्रतियोगिता बिहीबारबाट सुरु भएको हो ।
शुक्रबारसम्म हुने प्रतियोगितामा महिलातर्फ ४५ जना र पुरुषतर्फ ७८ जना गरी कुल १२३ जना खेलाडीको सहभागिता रहनेछ । प्रतियोगितामा महिलातर्फ ४२, ४६, ४९, ५३ र ५७ केजि तौल समूहको खेलाडी सहभागिता रहेको छ । यसैगरी पुरुषतर्फ ४८, ५१, ५४, ५८, ६३ र ६८ केजितौल समूहको खेलाडीहरुको सहभागिता रहेको छ । प्रतियोगितामा रुपन्देही, पर्सा, बारा, काभ्रे, काठमाडौं, भक्तपुर, नुवाकोट, चितवन, दाङ र रसुवा जिल्लाको १÷१ वटा र मकवानपुरको दुई वटा टोली गरी १२ वटा टोलीले सहभागिता जनाएको आयोजकले जनाएको छ ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने टोलीले क्रमशः ५० हजार, ३५ हजार र २५ हजार रुपैयाँसहित शिल्ड, मेडेल र ट्रफी प्राप्त गर्नेछन् । यस्तै, प्रथम, द्वितीय र तृतीय हुने खेलाडीले क्रमशः ३ हजार, २ हजार र १ हजार ५ सय रुपैयाँ प्राप्त गर्नेछन् । । प्रतियोगितामा व्यक्ति विधातर्फ पनि सर्वोत्कृष्ट खेलाडीहरुलाई ३/३ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगिता उद्घाटन जिल्ला तेक्वान्दो संघ मकवानपुरका अध्यक्ष लालकाजी रत्न बज्राचार्यको सभाध्यक्षता तथा बागमती प्रदेश सरकारको युवा तथा खेलकुद मन्त्री उर्मिला नेपालको प्रमुख आतिथ्य भएको थियो ।











