हेटौँडा : विसं २०७६ पुस २८ गते मकवानपुरको मनहरी गाँउपालिका नेपालकै पहिलो बालमैत्री गाउँपालिका घोषणा भयो । धुमधामसहित भव्य कार्यक्रम गरेर तत्कालीन गाउँपालिका उपाध्यक्ष मनिला बिष्टको नेतृत्वमा यो गाउँपालिका नेपालकै पहिलो बालमैत्री गाँउपालिका बन्न सफल भएको थियो । तर बालमैत्री बनेको ६ बर्ष पुग्न लाग्दा पनि यस गाउँपालिकाका कतिपय वडाहरुमा बालबिवाहका घटना निरन्तर भइरहेका छन् ।
बालबिवाहले गर्दा माध्यमिक विद्यालयहरुमा पनि नतिजामा सुधार ल्याउन झनै समस्या बढेको मनहरी–२ स्थित सीता माविका प्रधानाध्यापक विशाल घलान गुनासो गर्नुहुन्छ । ‘कक्षा १० को सुरुवातमा एसईईको फारम भरेका विद्यार्थीहरु बालबिवाह गरी चार–पाँच महिना भागेर बेपत्ता भइदिन्छन् । अनि पछि परीक्षामा सामेल हुनमात्र आइपुग्छन्’, प्रधानाध्यापक घलान भन्नुहुन्छ– ‘यसले विद्यार्थीको संख्या त देखिन्छ, तर पढेका भने हुँदैनन् । अनि त फेल नै हुन्छन् ।’
कोही विद्यार्थी त विद्यालय पोसााकमै बिवाह गरेर भाग्ने गरेको उहाँले बताउनुभयो । यस वर्र्ष पनि कक्षा १० मा अध्ययन गर्ने ३ जनाले भागी बिवाह गरिसेको प्रधानाध्यापक घलानले जानकारी दिनुभयो । तामाङ जातिको बाहुल्यता रहेको यस वडामा सानै उमेरमा भागेर विवाह गरेका छोरी फर्काउन हुँदैन भन्ने मान्यताका कारण कोही अभिभावकले पनि यसमा चासो नदिने गरेको उहाँको भनाइ छ ।
बालमैत्री घोषणा भएको ६ वर्ष भइसकेको पालिकाले बालमैत्री पालिकाका सूचकहरु कायम राख्ने कार्यक्रमका लागि बजेटमा निरन्तरता दिएको देखिँदैन । तत्कालीन गाउँपालिकाका जनप्रतिनिधिहरुले बालमैत्री कार्यक्रमलाई प्राथमिकता दिए पनि पछिल्ला जनप्रतिनिधिहरुले बालमैत्री कार्यक्रमलाई ओझेलमा पारेको जस्तो देखिन्छ ।
गत आर्थिक वर्षमा मनहरी गाउँपालिकामा बालबिवाह अन्त्यका लागि समुदाय परिचालन कार्यक्रमका लागि १ लाख ५० हजार र बाल श्रममुक्त गाउँपालिकाका लागि ३ लाख बजेट बिनियोजन गरेको थियो । यद्यपि बालमैत्रीका सूचकहरुलाई नजरअन्दाज गर्दै बजेटमा कमी गरेको छ । बालमैत्रीका सूचकहरुलाई कायम राख्न बालश्रमको अनुगमन गर्ने गरेको पालिकाकी उपाध्यक्ष सीता पुलामी मगरले बताउनुभयो । बालश्रम रोकथाममा लागेको भए पनि पालिकामा पर्याप्त बालबिवाह भइरहँदा जनप्रतिनिधिहरुको ध्यान पुग्न सकेको छैन ।
मनहरीको जस्तै बकैया गाँउपालिकाको पनि बालमैत्री निरन्तरता अवस्था सकारात्मक छैन । यो पालिका पनि विसं २०७७ माघ २९ गते बालमैत्री घोषणा भएको थियो । तर बालमैत्री भएको ५ वर्षसम्म पनि निरन्तर बालबिवाह चलिरहेको छ । आर्थिक वर्ष २०७८/०७९ मा २८ जनाको बालबिवाह भएको तथ्याङ्क छ । आर्थिक वर्ष २०७९/०८० मा २१ जना बालबालिकाको विवाह भएको थियो भने अर्को वर्ष १३ जनाको बालबिवाह भएको पालिकाको तथ्याङ्क छ ।
पालिकामा बालबिवाह भइरहँदा पनि यसको न्यूनीकरण गर्न भन्दा बालमैत्री घोषणा गर्नमात्र हतारिएका कारण अहिले पछुताउनु परेको भन्दै बकैया गाउँपालिकका उपाध्यक्ष भक्तबहादुर खत्री पुराना जनप्रतिनिधिलाई दोष दिनुहुन्छ । पहिले दीर्घकालीनरुपले यस्ता समस्या निराकरण गरेरमात्र बालमैत्री घोषणा गर्नुपर्ने उहाँको भनाइ छ ।
पालिकाबाट भएका अनुगमनमा बालबिवाहमा संग्लग्न अधिकांश बालबालिकाहरु बिखण्डनमा परेका परिवारका र अभिभावकविहीन अवस्थाका रहेको पाइएको बकैया गाउँपालिकाकी सामाजिक विकास शाखाकी कर्मचारी होमकुमारी सञ्जेलले जानकारी दिनुभयो । बकैया–२, तीनभंगाले दोभानस्थित कालिका माविका प्रधानाध्यापक सुकराम स्याङ्तान पनि बालबालिकाहरु विद्यालयबाटै बिवाह गरेर भागिदिने बताउनुहुन्छ ।
अभिभावकहरुमा चेतनाको कमीले आफ्ना बालबालिका बेपत्ता हुँदा पनि खोजी नगर्ने र सो बिवाह सम्बन्धलाई स्वीकार्ने गर्दछन् । बालबालिकाको पढ्ने र सिक्ने उमेरमा बरालिने र किशोरावस्थामा नै अभिभावक बन्ने हुँदा यसले आमाको स्वास्थ्यलगायत अन्य दूरगामी असर पर्ने उहाँ बताउनुहुन्छ । बालबिवाहको भोजमा स्थानीय जनप्रतिनिधिहरु नै गएर सहभागी हुने गरेको उहाँले उल्लेख गर्नुभयो ।
बालमैत्री घोषणा भएका पालिकाहरुले बालमैत्री सूचकहरुलाई कायम राख्न उचित र पर्याप्त बजेट विनियोजन गर्नुपर्ने बाल हेल्पलाइन मकवानपुरका प्रबन्धक झविन्द्र ज्ञवालीको सुझाव छ । बालबालिकाको क्षेत्रमा पालिकाहरुले लगानी बढाएर बालबालिकालाई र अभिभावकहरुलाई छुट्टा छुट्टै सचेतना कार्यक्रममा लगानी गर्नुपर्ने, बालअधिकार समितिको बैठकमा सक्रिय भई बालमैत्रीलाई बढावा दिन सकिने उहाँको भनाइ छ । अभिभावकहरुको आयआर्जन तथा सिप, तालिम कार्यक्रम सञ्चालन गर्नुपर्ने, विद्यालयहरुमा पढाइको स्तर बढाउन कार्यक्रमहरु थप गर्नेलगायतका स्थानीय तहले बालबालिकाको क्षेत्रमा प्रत्येक वर्ष निरन्तर बजेटको दायरा बढाएमा बालबिवाहका समस्या न्यून हुँदै निराकरणसमेत हुने ज्ञवाली बताउनुहुन्छ ।
