यस वर्षको एसईई आगामी चैत १९ गतेबाट सुरु हुँदैछ । विद्यालय तहको महत्वपूर्ण परीक्षाको रुपमा एसईईलाई लिइन्छ । पछिल्लो समय सरकारले कक्षा–१२ सम्मको शिक्षालाई विद्यालय तहको शिक्षा भने पनि अझै १० कक्षाको वार्षिक परीक्षा नै विद्यालय परीक्षाको रुपमा स्थापित छ । गत वर्ष एसईईमा मकवानपुर जिल्लामै शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल हेटौँडा–१८ स्थित मकवानपुर बालविद्या सदन यस वर्ष पनि गत वर्षजस्तै नतिजा हासिल गर्ने प्रयास गरिरहेको छ । गत वर्षको उपलब्धी, यस वर्षको योजना र लक्ष्यको विषयमा रहेर मकवानपुर बालविद्या सदनका प्रिन्सिपल सुदीप राज गिरीसँग समृद्ध समाज दैनिकका सम्पादक सुरेश श्रेष्ठले गर्नुभएको कुराकानीको अंशः
समाज : गत वर्ष मकवानपुर बालविद्या सदनसहित मकवानपुरका ५ वटा संस्थागत विद्यालयले शतप्रतिशत नतिजा ल्याउन सफल भएको थियो । यस वर्ष चैत्र १९ देखि परीक्षा हुँदैछ । अन्तिम समयमा आइपुग्दा मकवानपुर बाल विद्या सदनको तयारी कस्तो छ ?
गिरी : माध्यमिक तह कक्षा १२ सम्म भए पनि हाम्रो शैक्षिक जगतमा कक्षा १० को नतिजालाई नै सबैभन्दा बढी प्राथमिकता दिने चलन छ । यो जनचासोको विषय पनि हो । तयारीको कुरा गर्दा, कुनै पनि विद्यालयले सबै कक्षामा उत्तिकै ध्यान दिनुपर्छ, तर १० कक्षाको हकमा हामीले अलि बढी प्राथमिकता दिएका छौँ ।
हाम्रो विद्यालयमा हामीले विद्यार्थीहरूलाई तीन तहमा वर्गीकरण गरेर पढाउने गरेका छौँ । इन्डिपेन्डेन्ट लर्नर्स, जो आफैँ मिहिनेत गरेर सिक्न सक्छन् । गाइडेड लर्नर्स जसलाई शिक्षकले थोरै मार्गदर्शन र पृष्ठपोषण दिए पुग्छ । फाउण्डेशनल लर्नर्स जसको आधार नै कमजोर छ । यस्ता विद्यार्थीलाई शिक्षकले कक्षाको ४५ मिनेटको समयमा सबैभन्दा बढी समय दिनुहुन्छ । यसबाहेक, हामीले विद्यार्थीहरूको उच्च मनोबलका लागि वर्षमा २–३ पटक विशेष मोटिभेसनल कार्यक्रमहरू गर्छौँ । करिब एक महिना अगाडि मात्रै पनि हामीले बजारमा एउटा कम्बाइन्ड कार्यक्रम गरेका थियौँ, जहाँ समूहमा मिलेर कसरी सफल हुन सकिन्छ भन्ने कुरा सिकाइएको थियो ।
समाज : गत वर्षको शतप्रतिशत नतिजा अपेक्षा अनुसार नै थियो कि त्यो भन्दा राम्रो ? र यो वर्ष कति विद्यार्थी सहभागी हुनुहुन्छ ?
गिरी : शतप्रतिशत नतिजा आउनुमा धेरै कुराको संयोग मिल्नुपर्छ । विद्यार्थीको तयारी त छँदैछ, ७ दिनको परीक्षामा उसको शारीरिक र मानसिक स्वास्थ्य पनि उत्तिकै महत्वपूर्ण हुन्छ । कुनै एक दिन मात्रै पनि बच्चा बिरामी भयो वा कुनै एउटा विषयमा उसको नतिजा बिग्रियो भने शतप्रतिशत हुन सक्दैन । त्यसैले ती ५ वटा विद्यालयहरू भाग्यमानी पनि हुन् भन्छु म । यो वर्ष हामीसँग १७ जना विद्यार्थी हुनुहुन्छ ।
गत वर्ष १८ जना हुनुहुन्थ्यो । संख्या थोरै भए पनि हाम्रा लागि चुनौति उत्तिकै छ । हामीले अघिल्लो वर्षको भन्दा अझ बढी मिहिनेत यो वर्ष गरेका छौँ । मलाई लाग्छ, आगामी वर्षहरूमा विद्यार्थी संख्या अझ बढ्नेछ र मेरो वास्तविक परीक्षा पनि त्यतिबेलै हुनेछ ।
समाज : हेटौँडा–१८ अलि फरक परिवेशमा छ । त्यहाँका विद्यार्थीहरूमा एसईईलाई लिएर कस्ता चिन्ता वा सामाजिक चुनौतीहरू देख्नुभएको छ ?
गिरी : हाम्रो वडा उपमहानगरपालिका त भयो तर सामाजिक रूपमा अझै गाउँ र सहरको बीचको अवस्थामा छ । भौतिक पूर्वाधार त २–४ वर्षमा बन्छ, तर सामाजिक विकासमा समय लाग्ने रहेछ । बालबालिकालाई अलिकति मात्रै पनि निगरानी गर्न छोडियो भने उनीहरू बाटो बिराउने जोखिम रहन्छ । त्यसैले हामीले शैक्षिक सत्रको पहिलो दिनदेखि नै ‘आजै चैत्र १९ हो’ भन्ने सोचका साथ विद्यार्थीलाई तयार गर्छौँ। अहिले हाम्रा विद्यार्थीहरू ‘कहिले चैत्र १९ आउला र परीक्षा दिउँला’ भन्ने गरी मानसिक र शारीरिक रूपमा पूर्ण तयार भइसकेका छन् । उनीहरूमा अब डर भन्दा पनि उत्साह छ ।
समाज : शिक्षकहरूको समर्पण र व्यवस्थापनको पाटो कस्तो छ ? नतिजालाई लिएर उनीहरू कत्तिको विश्वस्त छन् ?
गिरी : शिक्षकहरूको भूमिका त त्रिपक्षीय सम्बन्धको मुख्य कडी हो । म आफूलाई भाग्यमानी ठान्छु किनकि मकहाँ निकै समर्पित शिक्षक टोली छ । बजार क्षेत्रमा पनि गणित र विज्ञानका शिक्षकको ठूलो अभाव छ, तर मेरो विद्यालयमा शिक्षकहरूले निकै डेडिकेटेडली काम गरिदिनुभएको छ ।
विज्ञान पढाउने रवि सर प्रत्येक दिन हेटौँडा बजारबाट विद्यालय आउन–जान गरी ५६ किलोमिटर यात्रा गर्नुहुन्छ । गणितका विज्ञ गोपाल घिमिरे सरले पनि उत्तिकै सहजीकरण गरिरहनुभएको छ । हाम्रा शिक्षकहरूले बिदाको दिन र शनिबार पनि आएर विद्यार्थीलाई अतिरिक्त समय दिनुहुन्छ । म तपाईंको रेडियोमार्फत ती सम्पूर्ण शिक्षकहरूलाई सम्मान व्यक्त गर्न चाहन्छु । उहाँहरू नतिजालाई लिएर निकै कन्फिडेन्ट हुनुहुन्छ ।
समाज : अभिभावकहरूको पाटोमा कुरा गरौँ । तपाईंहरूले एसईई दिने विद्यार्थीका अभिभावकहरूबाट कस्तो अपेक्षा राख्नुभएको छ ? उनीहरूलाई कसरी सन्तुष्ट पार्नुहुन्छ ?
गिरी : हाम्रो विद्यालयका अभिभावकहरू निकै सकारात्मक र सहयोगी हुनुहुन्छ । मेरो एउटै आग्रह छ, विद्यालयप्रति शंका नगर्नुहोस्, बरु प्रश्न गर्नुहोस् । प्रश्न सोध्दा उत्तर आउँछ र साझा निष्कर्षमा पुग्न सकिन्छ । हामी अभिभावकलाई ५–७ जनाको स–सानो समूहमा बोलाएर छलफल गर्छौँ ताकि उनीहरूले विद्यालयको लक्ष्य र योजना स्पष्ट रूपमा बुझून् ।
एउटा गम्भीर समस्या चाहिँ अभिभावकले बालबालिकालाई ‘पढ–पढ’ मात्र भन्नु हो । बच्चा १५ घण्टा जागै रहन्छ भने उसले १५ घण्टा नै ‘पढ’ भन्ने सुन्नुपर्छ । उनीहरूसँग साथीजस्तो बनेर गफ गर्ने, उनीहरूको जिज्ञासा सुन्ने र विद्यालयमा के भयो भनेर सोध्ने वातावरण बनाउनुपर्छ । बालबालिकाको जिज्ञासा नमार्नुहोस्; कौटिल्य पण्डितका बाबुले जस्तै बच्चाका साना प्रश्नहरूको पनि उत्तर खोजिदिनुहोस् ।
समाज : अन्त्यमा, शतप्रतिशत नतिजा आउँदा कसरी सेलिब्रेट गर्नुहुन्छ र अरु विद्यालयलाई के सन्देश दिन चाहनुहुन्छ ?
गिरी : रिजल्ट राम्रो आउँदा खुसी लाग्नु स्वाभाविक हो । हामी विद्यार्थी र अभिभावकलाई बोलाएर खुसी साटासाट गर्छौँ र एकअर्कालाई धन्यवाद दिन्छौँ । हाम्रो तयारी नै हाम्रो उत्सव हो । साथै, विज्ञान जस्ता विषय प्रभावकारी बनाउन विद्यालयका ल्याब र प्रयोगात्मक सिकाईमा जोड दिनु आवश्यक छ ।











