Home अन्तरवार्ता बच्चाका साना प्रश्नहरूको पनि उत्तर खोजिदिनुहोस

बच्चाका साना प्रश्नहरूको पनि उत्तर खोजिदिनुहोस

सुदीप राज गिरी प्रिन्सिपल मकवानपुर बालविद्या सदन, हेटौँडा–१८

यस वर्षको एसईई आगामी चैत १९ गतेबाट सुरु हुँदैछ । विद्यालय तहको महत्वपूर्ण परीक्षाको रुपमा एसईईलाई लिइन्छ । पछिल्लो समय सरकारले कक्षा–१२ सम्मको शिक्षालाई विद्यालय तहको शिक्षा भने पनि अझै १० कक्षाको वार्षिक परीक्षा नै विद्यालय परीक्षाको रुपमा स्थापित छ । गत वर्ष एसईईमा मकवानपुर जिल्लामै शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल हेटौँडा–१८ स्थित मकवानपुर बालविद्या सदन यस वर्ष पनि गत वर्षजस्तै नतिजा हासिल गर्ने प्रयास गरिरहेको छ । गत वर्षको उपलब्धी, यस वर्षको योजना र लक्ष्यको विषयमा रहेर मकवानपुर बालविद्या सदनका प्रिन्सिपल सुदीप राज गिरीसँग समृद्ध समाज दैनिकका सम्पादक सुरेश श्रेष्ठले गर्नुभएको कुराकानीको अंशः

समाज : गत वर्ष मकवानपुर बालविद्या सदनसहित मकवानपुरका ५ वटा संस्थागत विद्यालयले शतप्रतिशत नतिजा ल्याउन सफल भएको थियो । यस वर्ष चैत्र १९ देखि परीक्षा हुँदैछ । अन्तिम समयमा आइपुग्दा मकवानपुर बाल विद्या सदनको तयारी कस्तो छ ?
गिरी
: माध्यमिक तह कक्षा १२ सम्म भए पनि हाम्रो शैक्षिक जगतमा कक्षा १० को नतिजालाई नै सबैभन्दा बढी प्राथमिकता दिने चलन छ । यो जनचासोको विषय पनि हो । तयारीको कुरा गर्दा, कुनै पनि विद्यालयले सबै कक्षामा उत्तिकै ध्यान दिनुपर्छ, तर १० कक्षाको हकमा हामीले अलि बढी प्राथमिकता दिएका छौँ ।

हाम्रो विद्यालयमा हामीले विद्यार्थीहरूलाई तीन तहमा वर्गीकरण गरेर पढाउने गरेका छौँ । इन्डिपेन्डेन्ट लर्नर्स, जो आफैँ मिहिनेत गरेर सिक्न सक्छन् । गाइडेड लर्नर्स जसलाई शिक्षकले थोरै मार्गदर्शन र पृष्ठपोषण दिए पुग्छ । फाउण्डेशनल लर्नर्स जसको आधार नै कमजोर छ । यस्ता विद्यार्थीलाई शिक्षकले कक्षाको ४५ मिनेटको समयमा सबैभन्दा बढी समय दिनुहुन्छ । यसबाहेक, हामीले विद्यार्थीहरूको उच्च मनोबलका लागि वर्षमा २–३ पटक विशेष मोटिभेसनल कार्यक्रमहरू गर्छौँ । करिब एक महिना अगाडि मात्रै पनि हामीले बजारमा एउटा कम्बाइन्ड कार्यक्रम गरेका थियौँ, जहाँ समूहमा मिलेर कसरी सफल हुन सकिन्छ भन्ने कुरा सिकाइएको थियो ।

समाज : गत वर्षको शतप्रतिशत नतिजा अपेक्षा अनुसार नै थियो कि त्यो भन्दा राम्रो ? र यो वर्ष कति विद्यार्थी सहभागी हुनुहुन्छ ?
गिरी
: शतप्रतिशत नतिजा आउनुमा धेरै कुराको संयोग मिल्नुपर्छ । विद्यार्थीको तयारी त छँदैछ, ७ दिनको परीक्षामा उसको शारीरिक र मानसिक स्वास्थ्य पनि उत्तिकै महत्वपूर्ण हुन्छ । कुनै एक दिन मात्रै पनि बच्चा बिरामी भयो वा कुनै एउटा विषयमा उसको नतिजा बिग्रियो भने शतप्रतिशत हुन सक्दैन । त्यसैले ती ५ वटा विद्यालयहरू भाग्यमानी पनि हुन् भन्छु म । यो वर्ष हामीसँग १७ जना विद्यार्थी हुनुहुन्छ ।

गत वर्ष १८ जना हुनुहुन्थ्यो । संख्या थोरै भए पनि हाम्रा लागि चुनौति उत्तिकै छ । हामीले अघिल्लो वर्षको भन्दा अझ बढी मिहिनेत यो वर्ष गरेका छौँ । मलाई लाग्छ, आगामी वर्षहरूमा विद्यार्थी संख्या अझ बढ्नेछ र मेरो वास्तविक परीक्षा पनि त्यतिबेलै हुनेछ ।

समाज : हेटौँडा–१८ अलि फरक परिवेशमा छ । त्यहाँका विद्यार्थीहरूमा एसईईलाई लिएर कस्ता चिन्ता वा सामाजिक चुनौतीहरू देख्नुभएको छ ?
गिरी
: हाम्रो वडा उपमहानगरपालिका त भयो तर सामाजिक रूपमा अझै गाउँ र सहरको बीचको अवस्थामा छ । भौतिक पूर्वाधार त २–४ वर्षमा बन्छ, तर सामाजिक विकासमा समय लाग्ने रहेछ । बालबालिकालाई अलिकति मात्रै पनि निगरानी गर्न छोडियो भने उनीहरू बाटो बिराउने जोखिम रहन्छ । त्यसैले हामीले शैक्षिक सत्रको पहिलो दिनदेखि नै ‘आजै चैत्र १९ हो’ भन्ने सोचका साथ विद्यार्थीलाई तयार गर्छौँ। अहिले हाम्रा विद्यार्थीहरू ‘कहिले चैत्र १९ आउला र परीक्षा दिउँला’ भन्ने गरी मानसिक र शारीरिक रूपमा पूर्ण तयार भइसकेका छन् । उनीहरूमा अब डर भन्दा पनि उत्साह छ ।

समाज : शिक्षकहरूको समर्पण र व्यवस्थापनको पाटो कस्तो छ ? नतिजालाई लिएर उनीहरू कत्तिको विश्वस्त छन् ?
गिरी
: शिक्षकहरूको भूमिका त त्रिपक्षीय सम्बन्धको मुख्य कडी हो । म आफूलाई भाग्यमानी ठान्छु किनकि मकहाँ निकै समर्पित शिक्षक टोली छ । बजार क्षेत्रमा पनि गणित र विज्ञानका शिक्षकको ठूलो अभाव छ, तर मेरो विद्यालयमा शिक्षकहरूले निकै डेडिकेटेडली काम गरिदिनुभएको छ ।

विज्ञान पढाउने रवि सर प्रत्येक दिन हेटौँडा बजारबाट विद्यालय आउन–जान गरी ५६ किलोमिटर यात्रा गर्नुहुन्छ । गणितका विज्ञ गोपाल घिमिरे सरले पनि उत्तिकै सहजीकरण गरिरहनुभएको छ । हाम्रा शिक्षकहरूले बिदाको दिन र शनिबार पनि आएर विद्यार्थीलाई अतिरिक्त समय दिनुहुन्छ । म तपाईंको रेडियोमार्फत ती सम्पूर्ण शिक्षकहरूलाई सम्मान व्यक्त गर्न चाहन्छु । उहाँहरू नतिजालाई लिएर निकै कन्फिडेन्ट हुनुहुन्छ ।

समाज : अभिभावकहरूको पाटोमा कुरा गरौँ । तपाईंहरूले एसईई दिने विद्यार्थीका अभिभावकहरूबाट कस्तो अपेक्षा राख्नुभएको छ ? उनीहरूलाई कसरी सन्तुष्ट पार्नुहुन्छ ?
गिरी
: हाम्रो विद्यालयका अभिभावकहरू निकै सकारात्मक र सहयोगी हुनुहुन्छ । मेरो एउटै आग्रह छ, विद्यालयप्रति शंका नगर्नुहोस्, बरु प्रश्न गर्नुहोस् । प्रश्न सोध्दा उत्तर आउँछ र साझा निष्कर्षमा पुग्न सकिन्छ । हामी अभिभावकलाई ५–७ जनाको स–सानो समूहमा बोलाएर छलफल गर्छौँ ताकि उनीहरूले विद्यालयको लक्ष्य र योजना स्पष्ट रूपमा बुझून् ।

एउटा गम्भीर समस्या चाहिँ अभिभावकले बालबालिकालाई ‘पढ–पढ’ मात्र भन्नु हो । बच्चा १५ घण्टा जागै रहन्छ भने उसले १५ घण्टा नै ‘पढ’ भन्ने सुन्नुपर्छ । उनीहरूसँग साथीजस्तो बनेर गफ गर्ने, उनीहरूको जिज्ञासा सुन्ने र विद्यालयमा के भयो भनेर सोध्ने वातावरण बनाउनुपर्छ । बालबालिकाको जिज्ञासा नमार्नुहोस्; कौटिल्य पण्डितका बाबुले जस्तै बच्चाका साना प्रश्नहरूको पनि उत्तर खोजिदिनुहोस् ।

समाज : अन्त्यमा, शतप्रतिशत नतिजा आउँदा कसरी सेलिब्रेट गर्नुहुन्छ र अरु विद्यालयलाई के सन्देश दिन चाहनुहुन्छ ?
गिरी
: रिजल्ट राम्रो आउँदा खुसी लाग्नु स्वाभाविक हो । हामी विद्यार्थी र अभिभावकलाई बोलाएर खुसी साटासाट गर्छौँ र एकअर्कालाई धन्यवाद दिन्छौँ । हाम्रो तयारी नै हाम्रो उत्सव हो । साथै, विज्ञान जस्ता विषय प्रभावकारी बनाउन विद्यालयका ल्याब र प्रयोगात्मक सिकाईमा जोड दिनु आवश्यक छ ।

Exit mobile version