इरान–अमेरिका युद्धका कारण नेपालका उद्योगहरुमा असर पर्न थालेको छ । एसियाका खाडी क्षेत्रमा युद्धले प्रभाव पार्दा त्यसको असर यहाँका उद्योगहरुमा देखिन थालेको हो । हेटौँडा औद्योगिक क्षेत्रमा रहेका उद्योगहरुमा पनि युद्धको असर देखिएको छ । युद्धरत क्षेत्रबाट भौगोलिकरुपमा निकै टाढा रहे पनि कच्चा पदार्थ र इन्धनका लागि अन्तर्राष्ट्रिय बजारमा निर्भर रहनुपर्ने बाध्यताका कारण यहाँका उद्योगहरुमा संकट देखिएको हो । हेटौँडा औद्योगिक क्षेत्रमा सञ्चालनमा रहेका १२६ मध्ये अधिकांश उद्योगहरुमा उत्पादन कटौती गर्नुपर्ने बाध्यता आइसकेको छ । उद्योगहरुले प्रयोग गर्ने कच्चापदार्थको आपूर्तिमा समस्या भएपछि पूर्ण क्षमतामा उत्पादन गर्न नसक्ने अवस्था रहेको व्यवसायीहरुको भनाइ छ । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिले कच्चापदार्थको पनि मूल्यवृद्धि भएको र आपूर्तिमा समेत अवरोध सिर्जना भएपछि अधिकांश उद्योगहरुले उत्पादन कटौती गर्नुपर्ने अवस्था आएको बताइएको छ ।
देशकै ठूलो औद्योगित क्षेत्रको रुपमा रहेको हेटौंडा औद्यागिक क्षेत्रमा १४७ वटा प्लटमध्ये १२६ प्लटमा उद्योगहरु सञ्चालनमा रहेका छन् । ४ वटा उद्योगहरु निर्माणको क्रममा रहेका छन् भने अन्य बाँकी प्लटमा सार्वजनिक संस्थानहरु चलिरहेका छन् । यी उद्योगमध्ये धेरैजसोले पूर्ण क्षमतामा उत्पादन गर्न सकिरहेका छैनन् । पेट्रोलियम पदार्थमा आधारित कच्चा पदार्थ प्रयोग गर्ने प्लाष्टिकजन्य उद्योगहरु अहिलेको अवस्थामा सबैभन्दा बढी मारमा परेका छन् । खाद्य सामग्री उत्पादन गर्ने उद्योगहरुले पनि पर्याप्त कच्चापदार्थ पाउन सकेका छैनन् । आपूर्तिकर्ताहरुले कृत्रिम अभाव सिर्जना गरेर कच्चापदार्थको मूल्यवृद्धि समेत गरेका कारण उद्योगहरु थप मारमा परेको बताइएको छ । कतिपय उद्योगहरुमा कच्चापदार्थको मौज्दात न्यून हुँदै गएका कारण उत्पादन नै बन्द गर्नुपर्ने अवस्था आउनसक्ने व्यवसायीको चिन्ता छ ।
अन्तर्राष्ट्रिय बजारमा इन्धनको भाउ बढ्दा ढुवानी खर्च बढेर मार खेपिरहेका उद्योगले आवश्यक विद्युत् पाउन नसक्दा महङ्गो मूल्यको डिजेल प्रयोग गरेर उद्योग सञ्चालन गर्नुपर्ने बाध्यताले दोहोरो मार सहनुपर्ने बाध्यता बनिरहेको छ । अन्तर्राष्ट्रियस्तरमा बढ्दो तनाव र आर्थिक अस्थिरताका कारण उद्योगहरु घाटामा चलाउनुपर्ने अवस्था आएको उद्योगीको भनाइ छ । उद्योगहरुले उत्पादन कटौती तथा महङ्गो इन्धन तथा कच्चा पदार्थ प्रयोग गर्नुपर्दा दैनिक ३ करोड रुपैयाँ बढीको नोक्सानी व्यहोर्नुपर्ने बाध्यता रहेको बताइएको छ । गत जनवरी÷फेब्रुअरीको तुलनामा अहिले प्याकेजिङका लागि प्रयोग हुने प्लास्टिकको दानाको मूल्य झण्डै दोब्बर भइसकेको कारण उत्पादन लागत उच्च भइरहेको छ । पेन्ट बनाउन आवश्यक पर्ने इमल्सन र अन्य कच्चा पदार्थहरू पेट्रोलियम पदार्थमा आधारित हुने भएकाले तिनको मूल्य बढ्नुका साथै बजारमा अभाव हुँदै गएकाले पेन्ट (रङ) उद्योगहरु पनि मारमा परेका छन् ।
औद्योगिक क्षेत्रमा हुँदै आएको विद्युत् कटौती, पेट्रोलियम पदार्थको मूल्यवृद्धि, कच्चापदार्थको अभाव तथा मूल्यवृद्धिले आपूर्ति शृंखलामा ढुवानी खर्च बढाउनुका साथै उत्पादन लागत बढाएको छ । सरकारले उद्योगमा आएको संकट समाधानका लागि विद्युत् आपूर्तिलाई नियमित बनाउनु आवश्यक छ । उद्योगले प्रयोग गर्ने पेट्रोलियम पदार्थको सहज आपूर्तिसँगै मूल्यमा छुट दिनेतर्फ पनि सरकारले ध्यान दिनु आवश्यक छ । अहिलेको विषम परिस्थितिले साँच्चै मारमा परेका उद्योगलाई बैंक ब्याजमा सहुलियत प्रदान गर्न पनि सरकारले सहजीकरण गर्नु उचित हुनेछ । आर्थिक विकासको मेरुदण्ड मानिएको उद्योगको संरक्षणमा सरकारले उचित ध्यान दिन नसकेर उद्योग बन्द गर्नुपर्ने अवस्था सिर्जना भएमा त्यसले अर्थतन्त्रमा नकारात्मक असर पर्ने निश्चित छ ।
