हेटौँडा : हेटौँडा–ललितपुर कान्ति लोकपथमा ट्रक दुर्घटना भएको छ। बुधबार बिहान २ बजेर ५० मिनेटको समयमा कान्ति लोकपथ अन्तर्गत मकवानपुरको बकैया गाउँपालिका–११, घट्टेपाखामा ना ८ ख ८७६० नम्बरको मालबाहक ट्रक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
हेटौँडाबाट काठमाडौं जाँदै गरेको ट्रक दुर्घटनामा परी ट्रकमा सवार पर्सा जिल्लाको बीरगंज महानगरपालिका–३२ का २० वर्षीय सन्तोष यादवको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। ट्रक चालक बीरगंज महानगरपालिका–३२ का ३३ वर्षीय कृष्ण यादवलाई उपचारका लागि चितवन रेफर गरिएको छ। प्रहरीका अनुसार ट्रक बीरगंजबाट काठमाडौंतर्फ सामान बोकेर जाँदै गरेको थियो । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।











