हेटौँडाः हेटौँडामा शुक्रबारदेखि ‘बागमती प्रदेशस्तरीय कृषि प्रदर्शनी’ आयोजना हुने भएको छ । मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा हुन लागेको प्रदर्शनीबारे संघले मंगलबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।
हेटौँडा–२ स्थित पल्पसा सदनमा आयोजना हुने प्रदर्शनी चैत १३ गतेदेखि १६ गतेसम्म सञ्चालन हुनेछ । प्रदर्शनीमा ४० वटा स्टलहरू रहनेछ । प्रदेशका सिन्धुली, रामेछाप, काभ्रे, काठमाडौं, चितवन र मकवानपुरका कृषक तथा कृषि उद्यमीहरूले प्रदर्शनीमा स्टल बुक गरेको संघका अध्यक्ष प्रमोद सिंह रानाभाटले जानकारी दिनुभयो ।
प्रदर्शनीको मुख्य उद्देश्य युवा पुस्तालाई कृषिमा आकर्षित गर्नु र कृषकहरूको मनोबल उच्च बनाउनु रहेको छ । प्रदर्शनीमा राखिने स्टलहरूमा विषादीमुक्त जैविक खाद्यान्नमात्रै विक्री वितरण गरिने आयोजकले जनाएको छ । प्रदर्शनीमा कोदो, जुनेलो, फापरको पिठो, विभिन्न गेडागुडी, मसला, केराको चिप्स र अचारजस्ता खाद्य सामग्रीका साथै बाटेको धुप, गोबरबाट निर्मित दियो र गाँजाको रेशाबाट निर्मित कपडाहरू बिक्री वितरण गरिनेछ । साथै, आधुनिक कृषि प्रविधि र उपकरणहरूको समेत प्रदर्शनी गरिनेछ ।
संघका अध्यक्ष रानाभाटका अनुसार प्रदर्शनीका लागि करिब ५ लाख ७५ हजार रुपैयाँ लागत अनुमान गरिएको छ । प्रदर्शनी आयोजना गर्न बागमती प्रदेश सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ५ लाख रुपैयाँ विनियोजन गरेको छ । कृषक र अवलोकनकर्तालाई प्रोत्साहन गर्नका लागि प्रदर्शनीमा स्टल शुल्क र प्रवेश निःशुल्क गरिएको छ भने टाढाबाट आउनेहरुका लागि खाजा र बासको समेत व्यवस्था गरिएको छ ।
यो मेलाले कृषि उपजको विविधिकरण, बजारीकरण र व्यावसायिक ज्ञान अभिवृद्धि गर्न सघाउनुका साथै कृषि क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास आयोजकले लिएको छ । प्रदर्शनी कृषिको महत्व बुझाउने प्लेटफर्मको रूपमा रहेको संघका अध्यक्ष रानाभाटको भनाइ छ ।
