Home खेलकुद प्रधानमन्त्री कप क्रिकेटः बागमती विजयी, रिजनले लिए ३ विकेट

प्रधानमन्त्री कप क्रिकेटः बागमती विजयी, रिजनले लिए ३ विकेट

हेटौँडाः एकदिवसीय पुरुष प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा बागमती प्रदेशको टिम विजयी भएको छ । बागतमीले मंगलबार गण्डकी प्रदेशलाई १७० रनले हराउँदै जारी प्रतियोगितामा पहिलो जित दर्ता गरेको हो ।

तल्लो मुलपानी क्रिकेट मैदानमा भएको खेलमा बागमतीले सुरुमा व्याटिङ गरेको थियो । टस हारेर व्याटिङको निम्तो पाएको बागमतीका व्याटरले उत्कृष्ट प्रदर्शन गर्दै गण्डकी सामु २९५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । बागमतीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २९४ रन बनाएको थियो ।

खेलमा बागमतीका दुबै ओपनर व्याटर आशुतोष घिरैया र शुभ कंसकारले राम्रो सुरुवात गरेका थिए । घिरैयाले ५९ रन र कंसकारले ४४ रन बनाए । यस्तै उपक्याप्टेन इशान पाण्डेले सर्वाधिक ७१ रन, उत्तम थापा मगरले ३० रन र विवेक राना मगरले २७ रन जोडे भने क्याप्टेन सन्दिप लामिछानेले अविजीत २६ रनको योगदान गरे । बागमतीका रिजन ढकालले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिए । क्याप्टेन लामिछाने र उपक्याप्टेन पाण्डेले समान २ विकेट लिए ।

२ सय ९५ रनको लक्ष्य पछ्याएर मैदान प्रवेश गरेको गण्डकी १२४ रनमै रोकियो । गण्डकीको टिम ३१ ओभर ५ बलमा १२४ रन बनाएर अलआउट भयो । गण्डकीका ओपनर व्याटर अर्जुन कुमालले सर्वाधिक ७४ रन बनाए । अर्का व्याटर सुवास भण्डारीले २९ रन जोडे । गण्डकीका तीन जना व्याटर समान २ रन बनाएर आउट भएका थिए भने बाँकीले १ रन पनि जोड्न सकेनन् । बलिङतर्फ गण्डकीका कमल परियारले २ विकेट लिएका थिए ।

मंगलबार नै माथिल्लो मुलपानी क्रिकेट मैदानमा भएको अर्को खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले नेपाल एपीफ क्लबलाई १८५ रनले पराजित गरेको छ । सुरुमा व्याटिङ गरेको पुलिस क्लबले उत्कृष्ट प्रदर्शन गर्दै ३५६ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो । पुलिस क्लबले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३५५ रन बनाएको थियो ।

पुलिसका लागि शंकर रानाले ६१ रन, दिनेश खरेलले ६० रन, दिलशाद अलीले ५१ रन, क्याप्टेन आरिफ शेखले ५० रन र राशिद खानले ४४ रन बनाएका थिए । पुलिसका ललितनारायण राजवंशीले ३ विकेट लिए । यस्तै, करण केसी, राशिद खान र दिनेश खरेलले समान २ विकेट लिए ।

लक्ष्य पछ्याइरहेको एपीफ क्लबलाई पुलिसले १७० रनमै रोक्न सफल भयो । एपीफले ४४ ओभरमा १७० रनमै अलआउट भयो । एपीफका लागि नन्दनकुमार यादवले सर्वाधिक अविजीत ४४ रन बनाए । कमल सिंह ऐरीले ३५ रन, सन्दिप जोराले २४ रन र पुरन विकले २० रन बनाए । एपीएफका कमल सिंह ऐरी र अमर सिंह रउटेलाले समान २ विकेट लिए ।

मंगलबारको खेल सकिएसँगै बागमती, एपीफ क्लब र पुलिस क्लबले प्रतियोगितामा समान २ खेलबाट २ अंक जोडेको छ । यसअघि प्रतियोगिताको आफ्नो पहिलो खेलमा बागमती विभागीय टोली नेपाल एपीफ क्लबसँग पराजित भएको थियो भने पुलिस क्लब त्रिभुव आर्मी क्लबसँग पराजित भएको थियो ।

Exit mobile version