हेटौँडा : मकवानपुरको बकैया गाउँपालिका–११ का वडा सदस्य ज्ञानबहादुर गोलेको करेन्ट लागेर मृत्यु भएको छ । मंगलबार बिहान वडा समितिको नियमित बैठकमा सहभागी हुन बकैया–११, पिपलडाँडास्थित घरबाट आँपचौरस्थित वडा कार्यालय जाँदै गरेका गोलेको घरदेखि २ सय मिटर टाढा बाटोमा चुँडिएर लत्रिएको विजुलीको तारमा परेर करेन्ट लागेको वडाध्यक्ष गोपाल न्यासुरले जानकारी दिनुभयो ।
४२ वर्षीय गोले २०७४ र २०७९ को स्थानीय निर्वाचनमा नेपाली काँग्रेसबाट वडा सदस्य निर्वाचित हुनुभएको हो । ‘हावाहुरीका कारण विजुलीको तार चुँडिएर लत्रिएको रहेछ । वडाको बैठकमा सहभागी हुन आउँदै गर्दा बिहान ८ बजेको समयमा करेन्ट लागेको हुन सक्छ । विद्यालय जाने बेलामा विद्यार्थीहरुले देखेपछि मात्रै थाहा भयो । उहाँको घटनास्थलमै मृत्यु भएको हो’, वडाध्यक्ष न्यासुरले भन्नुभयो । गोलेको श्रीमति र ६ महिनाकी छोरी छिन् ।
