हेटौँडा : छिमेकी मुलुक भारतमा हुन लागेको जनता फुटबल टुर्नामेटमा हेटौँडा फुटबल एकेडेमीको टोली सहभागी हुने भएको छ । भारतको बिहार राज्यको बेतिया जिल्लास्थित मैन्टारमा हुन लागेको प्रतियोगितामा हेटौँडा फुटबल एकेडेमीको टोली पनि सहभागी हुने एकेडेमीका मुख्य प्रशिक्षक एवम् अध्यक्ष भीम लामाले जानकारी दिनुभयो ।
प्रतियोगितामा नेपालका ४ वटा र भारतका ४ वटा गरी ८ वटा टोलीको सहभागिता रहनेछ । प्रतियोगिता नकआउट प्रणालीका आधारमा बुधबारदेखि मंगलबारसम्म सञ्चालन हुनेछ । प्रतियोगिताका उपाधि विजेता टोलीले ३१ हजार र उपविजेता टोलीले २१ हजार भारतीय रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् । हेटौँडा एकेडेमीले आउँदो शुक्रबार भारतको नरकटियागन्जको टोलीसँग खेल्नेछ ।
