प्रतिष्ठानमा एमबीबीएस अध्ययनका लागि आएका विद्यार्थीलाई स्वागत गरिँदै ।

हेटौँडा : भविष्यमा डाक्टर बन्ने लक्ष्यका साथ हेटौँडामा ४ जना विदेशीसहित ४७ जना डाक्टरी पढ्दैछन् । हेटौँडास्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस पहिलो व्याच यसै वर्षबाट सुरु भएको हो । एमबीबीएस पहिलो व्याचमा ४ विदेशीसहित ४७ जना भर्ना भएका छन् ।

नेपाली ४३ जना विद्यार्थी नेपालका २८ जिल्लाबाट आएका छन् । सबैभन्दा बढी काठमाडौँ जिल्लाबाट ५ जना, ललितपुरबाट ४, कास्की र महोत्तरीबाट ३ जना, अछाम, बारा, तनहुँ, पर्सा जिल्लाबाट २ जनाको दरले सहभागी छन् । यस्तै मकवानपुर, डडेल्धुरा, दार्चुला, चितवन, दोलखा, बैतडी, बाजुरा, धनुषा, स्याङ्जा, रुपन्देही, डोटी, सुनसरी, सप्तरी, नवलपरासी, तेह्रथुम, कपिलबस्तु, धादिङ, बर्दिया, सिन्धुली, डोल्पा जिल्लाबाट १/१ जना एमबीबीएस कार्यक्रममा भर्ना भएका छन् । यस कार्यक्रममा नेपालबाट मात्र नभई छिमेकी राष्ट्र भारतबाट समेत ४ जना विद्यार्थी सहभागी छन् । भारतको महाराष्ट्रबाट २ जना र बिहारबाट २ जना विद्यार्थी भर्ना भएका छन् ।

एमबीबीएस अध्ययनका लागि प्रतिष्ठानमा ५० जना विद्यार्थीको सिट रहेकोमा हालसम्म ४७ जना भर्ना भइसकेको प्रतिष्ठानका प्रशासकीय अधिकृत सशिता दंगालले जानकारी दिनुभयो । उहाँका अनुसार चैत्र ५ गतेसम्म भर्ना भइसक्नुपर्ने तोकिएको थियो । यस अवधिमा अन्य भर्ना हुन चाहने विद्यार्थीहरुसँग पनि सम्पर्क भइरहेको हुनाले विद्यार्थीको संख्या अझै बढ्न सक्ने उहाँको भनाइ छ । एमबीबीएस कार्यक्रममा पहिलो दुइ वर्ष विद्यार्थीले आधारभूत विज्ञान विषय अध्ययन गर्नेछन् । यसका लागि हाल यस प्रतिष्ठानमा २१ जना अध्यापकहरु छन् । बाँकी अवधि क्लिनिकल साइन्सका लागि भने ५३ जना अध्यापकहरु रहेको प्रतिष्ठानका प्रमुख प्रशासकीय अधिकृत अमरसिंह अधिकारीले बताउनुभयो ।

एमबीबीएस कार्यक्रमसहित बिपिएच (जनस्वास्थ्य), बिएमएलटी (ल्याव मेडिसिन), बिएस्सी नर्सिङ र बि फार्मेसी लगायतका स्वास्थ्य विज्ञानका प्राज्ञिक कार्यक्रमहरुका लागि समेत गरी १ सय १ जना प्राध्यापक रहेको समेत अधिकारीले जानकारी दिनुभयो । यि मध्ये ७ जना प्राध्यापकसहित वरिष्ठ कल्सन्टेन्ट विशेषज्ञहरु अध्यापनका लागि रहेका छन् । गत फागुन २५ गते औपचारिक रुपमा एमबीबीएस कार्यक्रमको सुरुवात गरिएकोमा यसपछि १ हप्ता आधारभूत कक्षा सञ्चालन भई गएको आइतबारदेखि नियमित कक्षा समेत सुरुवात भइसकेको प्रतिष्ठानले जनाएको छ ।