हेटौँडा : जिल्ला प्रहरी कार्यालय मकवानपुरले विभिन्न मुद्दामा अदालतबाट फैसला भई फरार रहेका ३ जना प्रतिवादीलाई पक्राउ गरेको छ । मकवानपुर जिल्ला अदालतबाट विभिन्न मितिमा कैद तथा जरिवाना सजाय तोकिए पनि फरार रहेका प्रतिवादीहरूलाई खोजीको क्रममा फेला पारी आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

पक्राउ पर्नेहरुमा लागूऔषध सम्बन्धी मुद्दामा समान २ महिना ५ दिन कैद र ४७ हजार रुपैयाँ जरिवाना सजाय पाएका हेटौँडा–९ का २७ वर्षीय प्रजेन महर्जन र २५ वर्षीय निरन राई रहेका छन् । यस्तै, बैंकिङ कसुरमा १५ दिन कैद र ३ लाख रुपैयाँ जरिवाना सजाय पाएका हेटौँडा–९ का ५० वर्षीय शिवराम केसी पक्राउ परेका छन् । पक्राउ परेका प्रतिवादीहरुलाई आवश्यक कारबाहीका लागि मकवानपुर जिल्ला अदालतमा बुझाइएको प्रहरीले जानकारी दिएको छ ।