२०८२ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दुइतिहाई बहुमत ल्याएको छ भने परम्परागत राजनैतिक पार्टीहरु कांग्रेस, एमाले र नेपाली कम्युनिष्ट पार्टीले लज्जास्पद पराजय भोगेका छन् । प्रजातन्त्र प्राप्ति तथा राष्ट्रियता, जनजीविका, संघीयता, धर्म निरपेक्षता, समानुपातिक समावेशी जस्ता मुद्दाहरुलाई सशक्त उठाउँदै वर्षौंसम्म संघर्ष गरेका कांग्रेस, कम्युनिष्ट र मधेशवादी दलहरु नराम्ररी पछारिएका छन् । यो अभूतपूर्व सफलता राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थनमा उर्लेको नभई स्थापित राजनैतिक शक्तिहरुप्रतिको आक्रोश, वितृष्णा र छटपटीको अभिव्यक्ति हो भनेर बुझ्नु पर्छ । समग्रमा सम्पूर्ण परिस्थितिको विश्लेषण र आगामी लिनुपर्ने बाटोका बारेमा समीक्षा गर्ने प्रयास गरिएको छ ।
१. स्थानीय तह निर्वाचन–२०७९ ले दिएको सन्देश– स्थानीय निर्वाचन २०७९ ले धरानमा हर्क साम्पाङ्ग, काठमाडौँमा बालेन शाह, धनगढीमा गोपी हमालका साथै केहि स्वतन्त्र उम्मेदवारको जितले पुराना स्थापित राजनैतिक दलहरुलाई सुध्रिनका लागि एउटा संकेत र मौका दिएको थियो । छोटो अवधिमा नै राष्ट्रिय स्वतन्त्र पार्टीको उदय भई संसदमा चौथो ठूलो दल हुनुले पनि राजनैतिक ठाउँ अब साँघुरो हुँदैछ भन्ने संकेत ठुला दलहरुलाई दिएको थियो । तर, अहंकार, नेतृत्व छोड्ने अनिच्छा र सत्तामै रमाउने प्रवृत्तिले यो संकेतलाई बुझ्न सकेन वा बुझ्ने प्रयास नै गरेन ।
२. जेन जी आन्दोलनको स्थिति : भ्रष्ट्राचारका काण्डहरु, कुशासन र शिक्षित युवाहरु पनि विदेश पलायन हुनुपर्ने परिस्थितिले आक्रोश, कुण्ठा र निराशा जन्माएको अवस्थामा सामाजिक सञ्जाल बन्द गर्ने निर्णयले विस्फोटक स्थिति सृजना गर्यो र भाद्र २३ को आन्दोलन भयो । सत्तामा रमाएका र सत्तालाई म्युजिकल चेयर जस्तै आलो–पालो आफ्नो पोल्टामा पार्न सफल ठुला राजनैतिक दलका शिर्ष नेताहरु साना दलले राजनैतिक अस्थिरता उत्पन्न गरे भन्ने बहानामा दुइ ठूला दल कांग्रेस र एमाले मिलेर सरकार चलाउँदा समेत स्थितिमा तात्विक परिवर्तन केहि देखिएन र जेन जी आन्दोलन भयो । भाद्र २४ मा अवान्छित तत्वको घुसपैठले व्यापक आगजनी, लुटपाट र विध्वंश भए पनि प्रतिनिधिसभा निर्वाचनको घोषणापछि आम जनतामा कुनै एक पार्टीलाई नै बहुमत दिनु पर्छ भन्ने मनोविज्ञान विकसित भएको अनुमान लगाउन सकिन्छ ।
३. नेपाली डायस्पोरा र सामाजिक सञ्जालको प्रभाव : विदेशमा (युरोप, अमेरिका, अस्ट्रेलिया लगायत खाडी मुलुक, मलेसिया, दक्षिण कोरिया) बसेका, काम गर्न गएका र उनीहरुले पठाएको रकमले नेपालको अर्थतन्त्र धान्दै गरेको स्थितिमा नेपालमै रोजगारी सृजना गर्न नसकी युवाहरु (अदक्ष, अर्धदक्ष र दक्ष) विदेशमा जानु परेको कारणले मुलुक बाहिर बस्ने नेपालीहरुले आफन्त, साथीभाई सबैलाई नयाँ पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीमा मत हाल्नु भन्ने आशय व्यक्त गरेको र सामाजिक सञ्जालले पनि पूराना होइन नयाँमा मत हालौं भन्ने भास्य उत्पन्न गराएको देख्न सकिन्छ ।
४. बालेनको क्रेज र रविको संगठन : जेनजी आन्दोलनपछि बन्ने अन्तरिम सरकारको प्रधानमन्त्रीमा बालेनको नाम जेन जी युवाहरुले अनुरोध गरे अनुसार बालेन क्रेज बारे आंकलन गर्न सकिन्छ । बालेन कै पहलमा प्रतिनिधिसभा विघटन र सुशीला कार्की प्रधानमन्त्रीमा नियुक्त भएको सर्वविदितै छ । बालेनको यो क्रेजलाई जेलबाट बाहिर निस्किएका रबि लामिछानेले बालेनलाई राष्ट्रिय स्वतन्त्र पार्टीमा भित्र्याएर र प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर राष्ट्रिय स्वतन्त्र पार्टीलाई निर्वाचनमा अगाडि ल्याउनमा ठूलो सफलता प्राप्त गरे । मधेसी मूलका मानिस प्रधानमन्त्रीको उम्मेदवार भन्ने भाष्यले विशेष महाधिवेशनबाट कांग्रेस सभापति चुनिएका, राजनैतिक संघर्ष र इतिहास बोकेका गगन थापा समेतले मधेसमा हार व्यहोर्नु पर्यो ।
बलेनको केही कार्यहरु : कम बोल्ने, संवाद नगर्ने, पदीय मर्यादा विपरित स्टाटस लेख्ने, एक्लै र अधिनायकवादी शैलीमा काम गर्ने, सडकपेटीमा पसल थापेकाहरुलाई उठिवास गराउने, सुकुम्बासी वस्तीहरु उठाउन खोज्ने आलोचित छन् । अर्कोतर्फ शिक्षण संस्थाहरुमा शुक्रबारको दिन किताबी ज्ञान भन्दा व्यावहारिक ज्ञान, सरकारी स्कूलमा अध्ययनरत नेपालभरका मेधावी विद्यार्थीलाई काठमाडौँको महंगा निजी स्कूलमा छात्रवृत्तिसहित पढाउने व्यवस्था गर्ने, काठमाडौँका महंगा निजी अस्पतालहरुमा विपन्न, असहाय व्यक्ति तथा परिवारलाई उपचारको व्यवस्था मिलाउने तथा युवाहरुलाई रोजगारीका लागि विभिन्न तालिम प्रदान गर्ने जस्ता अत्यन्त सराहनीय काम पनि गरेका छन् । साथै बालेनको भ्रष्ट्राचार विरोधी छवि, बलेनको क्रेज र रविको पार्टी संगठनको मिश्रणको नतिजा प्रतिनिधिसभा निर्वाचनमा देखियो ।
५. ठूला पार्टीहरुको अकर्मण्यता : ठूला पार्टीहरु कांग्रेस, एमाले, नेपाली कम्युनिष्ट पार्टी र मधेशको मसिहा ठान्ने मधेशवादी दलहरु सबैमा जडता देखियो । नेतृत्व हस्तान्तरंको मुद्दा सुन्न न चाहने, शिक्षित सहरी युवाहरुको मनस्थिति बुझ्ने कोशिश नगर्ने, आम जनताले खोजेको छिटो, छरितो प्रभावशाली कार्यशैली प्रति वास्ता नगर्ने, भ्रष्ट्राचारका मुद्दामा आँखा चिम्लिदिने र सत्ताको वरिपरि मात्र रमाउने प्रवृति अहिलेको परिणामको ठुलो कारण हो । कांग्रेसमा गगन थापा, विश्वप्रकाश शर्मा जस्ताले शेरबहादुर देउबा नेतृत्वविरुद्ध बारम्बार आवाज उठाएका र विशेष महाधिवेशन बाट गगन थापा सभापतिमा निर्वाचित भएका पनि हुन् । एमालेमा ओली विरुद्ध लागेकाहरु भिम रावल, घनश्याम भुसाल जस्ता कारवाहीमा परे र बाहिरिए । एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपाबाट माधव नेपाल, झलनाथ खनाल जस्ता पुराना नेताहरु अलग भए र छुट्टै पार्टी बनाए । गएको प्रतिनिधिसभा निर्वाचनमा समेत ओलीको विरोध गर्नेहरुले टिकट पाएनन् । नेपाली कम्युनिष्ट पार्टी बन्नु अघि रहेको माओवादी केन्द्रमा जनार्दन शर्माले नेतृत्व पुस्तान्तरण र संरचना वारे आवाज उठाउँदा महाधिवेशन प्रयोजनका लागि केन्द्रिय समिति विघटन गरे पनि प्रतिनिधिसभा निर्वाचनको मुखमा साना कम्युनिष्ट पार्टीहरुसँग कार्यगत एकताको प्रस्ताव राख्दै महाधिवेशन गराउनुको साटो विभिन्न वाम घटकहरुलाई मिलाई ठूलो पार्टी बनाउने र पुराना नेताहरुको व्यवस्थापनमा नै रमाई संयोजक बनेका प्रचण्डको पनि उस्तै व्यवहार देखियो । मुख्य कुरो ठूला पार्टीहरु ‘हामी ठूला छौँ र रहन्छौं’ भन्ने मनस्थितिमा नै रमाएका देखिए र परिणाम हाम्रो सामु छ ।
अबको बाटो भनेको राष्ट्रिय स्वतन्त्र पार्टीले पाएको जनताको अभूतपूर्व समर्थनलाई आम जनता र विशेषगरी शिक्षित, शहरी मध्यम वर्गको युवाहरुको आकांक्षालाई सम्बोधन हुने गरी छिटो, छरितो कार्यप्रणाली र परिणाममुखी कामको आवश्यकता हो । नेपालको भू–राजनैतिक परिस्थिति लाई ध्यान राख्दै सन्तुलित परराष्ट्र नीति, कुटनीति र आर्थिक समृद्धि तथा आत्मनिर्भर अर्थतन्त्रका लागि सवल अर्थनीति अपनाउँदै अगाडि बढ्नु नै देशका लागि हितकर हुन्छ । अन्यथा जनताको आशा निराशामा परिणत हुन बेर लाग्दैन । निर्वाचनमा पराजय भोगेका राजनैतिक दलहरुले आफ्नो निर्मम आत्म समीक्षा गरी पार्टी नेतृत्व, संरचना र संस्कार तथा बदलिँदो विश्व परिवेशमा युवाहरुको चाहनालाई आत्मसात गर्ने गरी आफुलाई कायापलट गर्न सकेनन् भने आउँदा दिनहरु झनै निराशाजनक हुन सक्छन् । कम्युनिष्टहरु भारतको पश्चिम बंगाल जस्तै खुम्चिँदै जाने र काँग्रेस भारतको भारतीय काँग्रेस जस्तै पछाडी पर्दै जाने सम्भावना हुन् सक्छ ।











