हेटौँडाः नेपाल हृदयरोग निवारण प्रतिष्ठान मकवानपुरको २० औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । बरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रेमराज वैद्यको प्रमुख आतिथ्यमा साधारणसभा सम्पन्न भएको हो ।

कार्यक्रममा प्रतिष्ठानका मकवानपुर अध्यक्ष विजयकुमार वैद्यले मकवानपुर शाखाले गरेका कार्यहरुको बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । गत फागुनमा डा. प्रेमराज वैद्यले आफ्ना स्वर्गीय माता बेतीमाया वैद्य तथा पिता ललितराज वैद्यको स्मृतिमा १ लाख ११ हजार १ सय ११ रुपैयाँको अक्षयकोष स्थापना गर्नुभएकोमा शनिबार सम्पन्न कार्यक्रममा उहाँका दाजु पृथ्वीराज वैद्यले १ लाख रुपैयाँ थप गर्दै प्रतिष्ठानलाई चेक हस्तान्तरण गर्नुभएको छ ।

अक्षयकोषमा जम्मा भएको रकमको ब्याज उच्च रक्तचाप र यसका समस्याबारे जनचेतना जगाउन उपयोग गरिने कार्यक्रममा जनाइएको छ । उच्च रक्तचापबाट मुटुको मात्र नभई आँखा, मृगौला, मस्तिष्कसहितका अंगहरुमा क्षति पुग्न सक्ने हुनाले सचेत रहनु आवश्यक भएको कार्यक्रमका सहभागीहरुले बताउनुभएको छ ।

प्रतिष्ठानको मकवानपुर शाखाले विभिन्न कार्यक्रमहरु सञ्चालन गरी २०८२ को सर्वोत्कृष्ट शाखा हुन सफल भएकोमा आगामी दिनमा अझै उत्कृष्ट कार्य गर्न प्रोत्साहन मिलेको मकवानपुरका सभापति विजयकुमार वैद्यले बताउनुभयो । मकवानपुर शाखाले यस वर्ष हेटौँडा–१०, हेटौँडा–४, थाहानगरपालिका तथा भीमफेदीको निबुवाटारमा मुटुरोगसहित अन्य रोगहरुको विशेषज्ञ चेकजाँच तथा औषधि वितरण शिविर सञ्चालन गरेको सभापति वैद्यले जानकारी दिनुभयो । यस्तै, हेटौँडा अस्पतालमा श्रावण र माघ महिनामा २ सय भाइल औषधिसमेत सहयोग गरेको सभापति वैद्यले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रतिष्ठानका केन्द्रीय सदस्य हरिवंश भेटवाल, केन्द्रीय सल्लाहकार भागिरथ शर्मा, प्रतिष्ठानकै प्रदेश संयोजक भोजराज कौडेल, प्रदेश सदस्य मेघराज पौडेल, जिल्ला शाखाका संस्थापक सभापति सम्राट तुम्बाहाङ्फेलगायतको उपस्थिति थियो ।