हेटौँडाः हेटौँडा–११ स्थित त्रिभुवन माध्यमिक विद्यालयको ६४ औँ अभिभावक भेला शनिबार सम्पन्न भएको छ । वडा नम्बर ११ का अध्यक्ष जुना दाहालको प्रमुख आतिथ्यमा भेला सम्पन्न भएको हो ।

कार्यक्रममा विद्यालयका लेखापाल सज्जन रिमालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियोे । कार्यक्रममा विद्यालय व्यवस्थापनमा सक्रिय भूमिका निर्वाह गरेको भन्दै विद्यालय व्यवस्थापन समिति सदस्य जनकप्रसाद लामिछानेलगायत आ–आफ्ना भूमिका उत्कृष्टरुपमा निर्वाह गरेकोमा शिक्षकहरु, विद्यालय कर्मचारीहरुलाई सम्मान गरिएको थियो । यस्तै, सक्रिय अभिभावक जयप्रसाद ढुंगाना र नियमित अभिभावकको रुपमा मुना दाहाललाई सम्मान गरिएको थियो । कार्यक्रममा बिभिन्न विधामा सक्रिय विद्यार्थीहरुलाई पनि सम्मान गरिएको थियो ।

उत्कृष्ट स्काउट ट्रुप शीर्षकमा समीक्षा शाही, उत्कृष्ट उपन्यासकार आसिका श्रेष्ठ, शैक्षिक मोनिटर सन्ध्या न्यौपाने, विद्यालय क्याप्टेन सागर न्यौपाने, त्रिभुवन बालआवाज भित्तेपत्रिका प्रकाशन समितिको सक्रिय सदस्यको रुपमा वर्षा चापागाईं सम्मानित भएका थिए । कार्यक्रममा विद्यालयको प्रगति तथा समस्याहरुबारे शिक्षक, अभिभावक तथा विद्यार्थीहरुले मन्तव्य प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा विद्यार्थीहरुद्वारा विभिन्न सांगीतिक कार्यक्रम तथा नृत्य प्रस्तुत गरिएको थियो ।

भेलाले विद्यालय व्यवस्थापन समितिको नयाँ समिति निर्माणार्थ ४ जना सदस्यहरु चयन गरेको छ । चयन भएका सदस्यहरुमा बिनु नेपाली, गोबिन्दप्रसाद न्यौपाने, जमुना राई र बद्री लम्साल रहेका छन् । ९ सदस्यीय रहने समितिमा प्रधानाध्यापक सदस्यसचिव रहने र बाँकी ४ जना सदस्यहरु ३ दिनभित्रमा टुङ्गो लाग्ने विद्यालयले जनाएको छ ।


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीपक उप्रेतीको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौँडा उपमहानगरपालिका शिक्षा विकास महाशाखाका अधिकृत रमेश बिडारी, निवर्तमान वडाअध्यक्ष गोकर्ण पराजुली, विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्षहरु दिवस पराजुली, बालकृष्ण बजगाईं, विद्यालयका प्रधानाध्यापक रामकुमार बतौला, पूर्वप्रधानाध्यापक हस्तलाल श्रेष्ठलगायतको उपस्थिति थियो ।