Home मुख्य समाचार ८ वटा पालिकामा आइतबारबाट वार्षिक परीक्षा

८ वटा पालिकामा आइतबारबाट वार्षिक परीक्षा

८ कक्षाको परीक्षा दिँदै विद्यार्थी । फाइल तस्वीर ।

हेटौँडाः मकवानपुर जिल्लाका पालिकाहरुमा आइतबारबाट वार्षिक परीक्षा सुरु हुने भएको छ । ८ वटा पालिकामा कक्षा १ देखि ९ सम्म अध्ययनरत विद्यार्थीहरुको वार्षिक परीक्षा चैत ८ गते आइतबारबाट हुने भएको हो । परीक्षा १६ गते सम्पन्न हुने पालिकाका शिक्षा शाखा प्रमुखहरुले बताएका छन् ।


मकवानपुरको बागमती, इन्द्रसरोवर, मकवानपुरगढी, मनहरी, भीमफेदी, थाहा, राक्सिराङ र कैलाशमा ८ गते आइतबारबाट परीक्षा सुरु हुनेछ भने बकैया गाउँपालिकामा ५ गते बिहीबारबाट परीक्षा सुरु भएको छ । सबै विद्यालयहरुले पालिकाको क्यालेण्डर र निर्णयअनुसार परीक्षा सञ्चालन गरेको पालिकाका शिक्षा शाखा प्रमुखहरुले बताए ।


हेटौँडा उपमहानगरपालिका भित्रका ८ र १० कक्षाबाहेकका परीक्षा विद्यालय आफैँले सञ्चालन गर्नेछन् । उक्त विषय पालिकाको कार्य क्षेत्रभित्र नपर्ने र विद्यालयको आन्तरिक विषय रहेको पालिकाका शिक्षा विकास महाशाखाका निमित्त प्रमुख हरिचन्द्र सापकोटाले बताउनुभयो । ८ कक्षाको परीक्षा भने ८ गतेबाट सञ्चालन हुनेछ ।

बागमती गाउँपालिले परीक्षा २ दिन अगाडि सारेको छ । एसईई परीक्षाको परीक्षा केन्द्र विभिन्न विद्यालयमा पर्ने भएकाले परीक्षा अगाडि सारेको पालिकाका शिक्षा शाखा प्रतिनिधि प्रमोद राईले जानकारी दिनुभयो । क्यालेण्डरअनुसार परीक्षा ११ गतेबाट रहेको थियो ।


यस्तै, राक्सिराङ गाउँपालिकाको परीक्षा २ दिन पछाडि सारिएको छ । पालिकाको क्यालेण्डर अनुसार परीक्षा ५ गतेदेखि भए पनि पछि सारिएको पालिकाका शिक्षा शाखा प्रमुख थारुले जानकारी दिनुभयो । १ देखि ९ कक्षासम्म ४ हजार ९३२ जना विद्यार्थी अध्ययनरत रहेका छन् ।


भीमफेदी गाउँपालिकामा यस वर्ष १ देखि ९ कक्षासम्म ३ हजार १७७ जना विद्यार्थी रहेका छन् । यस्तै, कैलाशमा ४ हजार १७ जना, मनहरीमा ९ हजार ९१५ जना, इन्द्रसरोवर गाउँपालिकामा १ हजार ६ सय, मकवानपुरगढी गाउँपालिकामा ४ हजार १२१ जना विद्यार्थी रहेका छन् ।


यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत १७ गतेबाट सञ्चालन हुनेछ । मकवानपुर जिल्लाबाट ७ हजार १ सय ९२ विद्यार्थीहरु समावेश हुने भएका छन् । यस वर्षको एसईईमा ५ हजार ५ सय २७ जना नियमित तथा ग्रेडवृद्धितर्फ १ हजार ६ सय ६५ जना सहभागी हुनेछन् । यीमध्ये प्राविधिक धारतर्फ १ सय ७५ जना नियमित र ग्रेडवृद्धिका ८८ गरी कुल २ सय ६३ जना एसईई परीक्षामा सामेल हुनेसमेत इकाईले जनाएको छ । हाल जिल्लामा प्राविधिक धारमा १० वटा विद्यालयहरुले पठनपाठन गराउँदै आइरहेका छन् ।

Exit mobile version