विद्यालयको वार्षिकोत्सवको अवसरमा सम्मान गरिँदै ।

हेटौँडा : मकवानपुरको मनहरी गाउँपालिका–१, मकरीस्थित बालजीवन ज्योति माध्यमिक विद्यालयको ३०औं वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम बुधबार सम्पन्न भएको छ । बागमती प्रदेशका सामाजिक विकास मन्त्री कन्चन चन्द्र बादेको प्रमुख आतिथ्यमा वार्षिकोत्सव समारोह भएको हो ।

कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका प्रमुख सुदिप गिरी, मनहरी गाउँपालिका शिक्षा शाखाका लक्ष्मण अधिकारीको पनि आतिथ्य रहेको थियो । विद्यालयको गतवर्षको आयव्यय लगायत सम्पूर्ण गतिविधिहरूको प्रतिवेदन तथा आगामी वर्षको कार्यक्रमहरू विद्यालयका प्रधानाध्यापक एकराज गौतमले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको अवसरमा विद्यालयमा लामो समय सेवा गरी सेवानिवृत्त हुनुभएका शिक्षक उद्धव ढकाललाई बिदाइ गरिएको थियो । अन्य विद्यालयमा सरुवा भई जानुभएका शिक्षकहरूलाई पनि बिदाइ गरियो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक–शिक्षिका, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रममा विद्यार्थीहरूले विभिन्न साँस्कृतिक प्रस्तुती तथा प्रतिभा प्रदर्शन गरी उपस्थित सबैलाई मनोरञ्जन र उत्साह प्रदान गरेका थिए । साथै विद्यालयको शैक्षिक, खेलकुद तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट प्रदर्शन गर्ने शिक्षक, विद्यार्थीहरूलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो ।