Home खेलकुद राष्ट्रिय महिला भलिबल, मकवानपुर जिल्ला प्रतियोगिताबाट बाहिरियो

राष्ट्रिय महिला भलिबल, मकवानपुर जिल्ला प्रतियोगिताबाट बाहिरियो

राष्ट्रिय महिला भलिबलमा प्रतिस्पर्धा गर्दै खेलाडी ।

हेटौँडा:हेटौँडामा जारी राष्ट्रिय महिला भलिबल प्रतियोगिताबाट मकवानपुर जिल्ला भलिबल संघको टिम बाहिरिएको छ । बिहीबार भएको खेलमा न्यू डाईमण्ड क्लबसँग पराजित भएसँगै मकवानपुरको टिम प्रतियोगिताबाट बाहिरिएको हो ।

दोस्रो वृहत् खेलकुद, कृषि तथा पर्यटन महोत्सवमा जारी प्रतियोगितामा यसअघि बुधबार प्रतियोगिताको उद्घाटन खेलमा मकवानपुरको टिम स्टेप रामपुर भलिबल क्लबसँग पराजित भएको थियो । बिहीबार महोत्सवस्थल हेटौँडा–१० टिसिएन चौरमा भएको खेलमा न्यू डायमण्ड क्लबले मकवानपुर जिल्ला भलिबल संघलाई ३–० को सोझो सेटमा हरायो । डायमण्ड क्लबले मकवानपुरलाई २५–६, २५–६ र २५–११ ले सहजै हरायो ।

त्यसअघि बिहीबार भएको पहिलो खेलमा केशवलाल स्मृति प्रतिष्ठानले जनशक्ति युवा क्लवलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो । प्रतिष्ठानले जनशक्ति क्लबलाई २५–१०, २५–१० र २५–१३ ले पराजित गरेको हो । प्रतियोगितामा ६ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता टिमले नगद ३ लाख रुपैयाँ तथा उपविजेता टिमले २ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । सेमीफाइनलमा पराजित हुने दुई टिमले समान नगद ५० हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

Exit mobile version