Home मुख्य समाचार विद्यार्थी मूल्याङ्कनको मूल औजार ‘परीक्षा’

विद्यार्थी मूल्याङ्कनको मूल औजार ‘परीक्षा’

चैतलाई विद्यालय तहको परीक्षा महिना भन्दा अत्युक्ती नहोला । वैशाखबाट नयाँ शैक्षिक सत्र प्रारम्भ हुने भएकाले चैतमा कक्षा १० सम्मका वार्षिक परीक्षा संचालन गरिन्छ । एक वर्षसम्म विद्यार्थीले गरेको मिहिनेत यहि बेला मापन हुन्छ । हाम्रो मुलुकमा विद्यार्थी मूल्याङ्कन भनेकै पेपर–पेन्सिल टेष्ट भन्ने बुझिन्छ । विषयगत अंकभारका आधारमा १ घण्टादेखि ३ घण्टासम्म समय निर्धारण गरिएको हुन्छ । विद्यार्थीले मात्र होइन, अभिभावक र शिक्षकले समेत यहि लिखित परीक्षालाई समग्र मूल्याङ्कन बुझ्ने संस्कार बसेको छ । अझ कक्षा १० को परीक्षा अर्थात् एसईईको तामझाम र हाउगुजी दशकौं अघिदेखिको एसएलसीको झैं देखिन्छ । वर्तमान शिक्षा नियमावलीले कक्षा १२ सम्म विद्यालय तह भनेर किटानी गरिसक्दा पनि अझै एसईईमा प्रदर्शन गरिने नाटकले फेरिन नसकेको जीर्ण मानसिकता स्पष्ट भन्न सकिन्छ । कक्षा ८ को परीक्षा स्थानीय तह स्तरमा संचालन हुने आजको व्यवस्था हो । यसरी कक्षा ८, १० र १२ का परीक्षामा शिक्षक, विद्यार्थी र अभिभावक अनि शिक्षा प्रशासनबाट प्रदर्शित चासो र चिन्ता तल्ला कक्षामा पनि देखिने हो भने शिक्षामा अपेक्षित नतिजा सहजै प्राप्त हुनेमा कसैको बिमति नहोला । जग बलियो भएमात्र घर मजबुत हुन्छ भन्ने सबैलाई थाहा छ । तर, तल्ला कक्षाका विद्यार्थीहरुको मूल्याङ्कनका लागि संचालन गरिने परीक्षा औपचारिकतामै सकिन्छन् । यस आलेखमा विद्यमान परीक्षा प्रणालीलाई नै बदल्न नसकेसम्म प्रभावकारी बनाउनेतर्फका विषयहरुमा सम्बन्धितहरुको ध्यानाकर्षण गर्ने प्रयत्न गरिएको छ ।

१. विद्यमान प्रश्न निर्माण शैली बदल्नु पर्छ । पाँच वर्षे र तीन वर्षे प्रश्न बैंकबाटै प्रश्न निकालेर जाँच लिने प्रणाली फेर्नै पर्ने हुन्छ । तोकिएको पाठ्यक्रमको पाठ्यपुस्तकमा आधारित रही विद्यार्थीको सिर्जनात्मक मौलिकपन तर्क र तथ्यमा आधारित जवाफबाट उच्च मूल्यांकन गर्ने परीक्षा सञ्चालन गर्न जरुरी महसुस गरिएको छ । शैक्षिक उपलब्धिको मापनसँग विद्यार्थीको व्यवहारमा आएका परिवर्तनहरु सहजै देखिनु पर्दछ ।

२. पाठ्यपुस्तक तथा नोटबुकको निश्चित जवाफ सार्ने प्रणालीको अन्त्य गरी प्रश्नले परीक्षार्थीको दिमागमा खोतलेर गहिराइबाट जवाफ टिप्ने विधिमा जानुपर्ने अवस्था महसुस भएको छ । परीक्षार्थीको मनोभाव मात्र होइन, सीपको स्तर मापन हुनेगरी सैद्धान्तिक र प्रयोगात्मक परीक्षा लिन सकिन्छ । विद्यार्थीको ज्ञानको स्तरसँग सीपको क्षमता मूल्याङ्कन गरिनु पर्छ ।

३. ‘कट अफ स्कोर’ को जरुरी छ । यो बोर्डर लाइन हो । विद्यार्थीको स्तर प्रदर्शन गर्न निश्चित अंक तोक्नै पर्छ । अझ सैद्धान्तिक र प्रयोगात्मक जोडेर ग्रेडिङ होइन, अलग–अलग ग्रेडिङ गर्नु राम्रो हुन्छ । अहिलेको अभ्यासले कक्षा १० वा १२ को विद्यार्थीको नतिजामा सैद्धान्तिकमा ‘डी’ ग्रेड र प्रयोगात्मकमा ‘ए प्लस’ हुनु कदापि राम्रो होइन । यो सन्तुलित बन्नुपर्छ, बनाउनु पर्छ ।

४. वस्तुगत सवालमा मार्किङ गर्न सरल हुन्छ । तर, विषयगत जवाफमा भने अधिकांश हचुवामा मार्किङ भएका छन् । उत्तर पढेर कुन कुरामा अंक दिनुपर्ने वा नपर्नेमा परीक्षकको ध्यान छैन । सकेसम्म छिटो कपी संख्या धेरै परीक्षण गर्ने प्रतिस्पर्धा व्यवहारमा देखाइएको छ । यो विधिमा सुधार नहुने हो भने धेरै विद्यार्थी पीडामा पर्न सक्छन् । कक्षा १० को मार्किङ स्किम बनाएर परीक्षण गर्न पठाउँदा पनि समस्या छ भने उत्ता कक्षा ११ र १२ को हकमा मार्किङ स्किमको अभावमा ज्यादा हचुवामा मार्किङ भएकाले थप समस्या देखिएको छ । उत्तरपुस्तिकाको परीक्षणस्थलको बसाई र परीक्षकको अवस्थाबारे थप गम्भीर बन्नुपर्ने वर्तमानले सावित गरेको छ ।

५. मौका परीक्षाको शीर्षकलाई बढी मजाक बनाएर जति विषय पनि दिन पाउने, ग्रेड बढाउन सकिने नाममा यस्तो परीक्षाकै उपहास गरिने हालको अवस्था अविलम्ब अन्त्य हुनुपर्छ । मौकाको अर्थ अनुसार नै सबै परीक्षा राम्रो भएको तर, कुनै एउटा विषय शारीरिक अस्वस्थता, दुर्घटना वा घरमा कसैको मृत्युको कारणजस्ता घटनाले गर्दा परीक्षामा सहभागी हुन नसकेको वा भएर पनि कारणबश लेख्न नसकेको अर्थात विशेष अवस्थामा एउटामात्र विषय अरु विषयमा राम्रो गरेको शर्तमा स्पष्ट कारण खुलाएर मौका परीक्षाको अवसर दिन सकिन्छ । हालको मौका परीक्षाको गाईजात्राले परीक्षाकै उपहास भएको छ ।

६. समयमा नतिजा दिनु अर्को महत्वपूर्ण पक्ष हो । विद्यार्थीको रजिष्ट्रेशन तथा परीक्षा आवेदन, परीक्षा कार्यक्रम र नतिजा प्रकाशनको तिथि–मिति शैक्षिक सत्रको प्रारम्भमा नै तोक्नुपर्छ । जसले गर्दा तोकिएको तालिकाअनुसार सम्बन्धित शिक्षक–विद्यार्थी समयमा नै सतर्क हुने बानी नै बस्छ । अनावश्यक झमेला आई परीक्षार्थीले दुःख पाउनु हुँदैन भन्नेमा शिक्षण संस्थाहरु र परीक्षा बोर्ड सजग बन्नैपर्छ । क्यालेण्डर निर्माणमात्र ठूलो कुरा होइन, उक्त क्यालेण्डरअुनसार चल्नु सबैभन्दा महत्वपूर्ण पक्ष हो । प्राविधिक पक्षहरुमा दौडिने र काम सक्नेतर्फ मात्र केन्द्रीत हुने शैली अन्त्य गर्नै पर्दछ ।

७. लेटर गे्रडिङ वैज्ञानिक प्रणाली हो भन्नेमा विमति छैन । विकसित राष्ट्रले लेटर ग्रेडिङ नै अपनाएका छन् । हाम्रो सन्दर्भमा यसप्रतिको धारणा कमजोर छ । शिक्षक नै लेटर ग्रेडिङलाई हतारमा प्रतिशतमा लाने र डिभिजनको प्रस्तुती गरिहाल्ने प्रतिस्पर्धामा देखिन्छन्, जुन त्रुटीपूर्ण छ । सामान्यतया जीपीएलाई पच्चीसले गुणा गरी प्रतिशत र डिभिजन भन्नु सबै अवस्थामा सही छैन र उपयुक्त होइन । यो लेटर ग्रेडिङबारे शिक्षकमै अन्यौल देखिन्छ । सर्वप्रथम त शिक्षक स्पष्ट बनेपछि मात्र विद्यार्थी, अभिभावक र अन्य सरोकारवाला वर्ग प्रष्ट हुन्छन् । यो पद्दतिबारे जाँगर लाएर बुझाउन जरुरी छ । हाल धेरै अन्यौल छरपष्ट भएका छन् । यो तत्काल समाधान गर्ने विषय बनेको छ । योसँगै शैक्षिक स्तरीयता र विद्यार्थीले चाहेको रोजेको विषय पढ्न ए वा ए प्लस अर्थात् तीनभन्दा माथिको जीपीए जरुरी छ भन्ने सन्देश दिन सक्नुपर्छ । कट अफ स्कोरको अनिवार्यताका कारण पनि यही स्तरीयतासँग जोडिएको छ । यी तथ्यहरु सर्वप्रथम सबै शिक्षकमा स्पष्ट हुनैपर्छ ।

८. परीक्षाको समग्र प्रणाली प्रविधिसँग जोडिनु पर्दछ । गोपनियता कायम गर्नुपर्ने भागलाई निश्चित पासवर्ड राखेर विद्यालयहरुले र परीक्षा बोर्डले स्वयम् गोप्य गर्न सक्छन् । बाँकी सामग्री र विधिबारे आफ्ना वेबसाइटमा राखेर सुसूचित गराउनु जरुरी छ । सबै गोपनियता छताछुल्ल गर्नैपर्छ भन्ने छैन ।

९. विद्यार्थीको मूल्यांकनलाई हलुका कदापि मान्नु हुँदैन । एक वर्ष सिकेका कुराको बढीमा तीन घण्टाको औजारबाट परीक्षण गरिन्छ । त्यो पनि व्यवहारमा होइन, पेपर–पेन्सिल टेष्टबाट । यो मूल्यांकनको मूल औजार परीक्षा प्रणाली जीर्ण र खिया लागेकाले यसलाई उज्यालो र धारिलो बनाउन यो प्रणाली बदल्नै पर्दछ । प्राथमिक तहमा लागू गरिएको निरन्तर विद्यार्थी मूल्यांकन (क्यास) प्रणाली झनै नाममात्रको भएको छ । यस्तो प्रयोगात्मक भनिएको परीक्षामात्र कागजमा सीमित छ, व्यवहारमा यो पनि मूल्यांकनको सही दायरामा आएको छैन । क्यास तथा प्रयोगात्मक परीक्षाको व्यवहारिक पक्ष र मूल्यांकन विधिमा व्यापक परिवर्तन जरुरी छ र यी भिन्न विषय बनाएर अलग विश्लेषणसहित चिन्तन गरिनु पर्दछ ।

१०. कुनै पनि परीक्षार्थीको जाँच स्वयम् उसले हासिल गरेको सम्बन्धित तह र कक्षाको सिकाई उपलब्धीको परीक्षण हो । तसर्थ विद्यार्थी मूल्यांकन वर्तमान युगानुकूल प्रविधिसँग जोडेर अन्तर्राष्ट्रिय अभ्याससँग मेल खानेगरी निर्माण गरिनु पर्दछ । मूल्यांकनको औजार कमजोर र परम्परागत रहेमा सिकाई कमजोर हुने र प्रतिस्पर्धात्मक दुनियामा हाम्रा विद्यार्थी पछाडि पर्ने तथ्य स्पष्ट छ । शैक्षिक स्तरीयता, प्रतिस्पर्धा, प्रविधियुक्त मूल्यांकन प्रणाली हाम्रो चाहना हो, जसमा विश्सनीयता र वैधताको अभाव नरहोस् भन्ने अपेक्षा गरिएको छ ।

Exit mobile version