हेटौँडा : निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित उम्मेदवारहरुको अन्तिम नामावली सार्वजनिक गरेको छ । गत २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको आयोगको चैत २ गतेको निर्णयअनुसार राजनीतिक दलहरुले प्राप्त गरेको मत र क्लस्टरका आधारमा समानुपातिक तर्फको उम्मेदवारहरु निर्वाचित भएको घोषणा गरिएको हो ।
आगामी चैत ५ गते उक्त नामावली राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गर्ने तयारी आयोगले गरेको छ । आयोगका अनुसार समानुपातिक तर्फबाट निर्वाचित सांसदहरु मध्ये बागमती प्रदेशका विभिन्न जिल्लाबाट ५ वटा राष्ट्रिय दलका ३१ जना उम्मेदवारहरु समेटिएका छन् । बागमती प्रदेशका ३३ निर्वाचन क्षेत्रबाट सिफारिसमा परेका समानुपातिक तर्फबाट ३१ जना सदस्य प्रतिनिधि सभामा निर्वाचित भएका हुन् । राष्ट्रिय दलको मान्यता पाएका ६ वटा दलमध्ये ५ वटा दलले बागमती प्रदेशबाट प्रतिनिधित्व पाएका छन् । तर, समानुपातिकतर्फ राष्ट्रिय रुपमा ४ सिट जितेको श्रम संस्कृति पार्टीबाट भने बागमती प्रदेशका कुनै पनि उम्मेदवारले अवसर पाउन सकेनन् ।
बागमती प्रदेशका १३ जिल्ला मध्ये ११ जिल्लामा क्लिन स्विप गरेको रास्वपाबाट समानुपातिक तर्फ १८ जना सांसद बनेका छन् । समानुपातिक तर्फबाट निर्वाचित हुनेहरुमा सबैभन्दा बढी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरु रहेका छन् । बागमती प्रदेशको १३ जिल्लाका ३३ निर्वाचन क्षेत्र मध्ये ३१ वटामा रास्वपाले प्रत्यक्षतर्फ निर्वाचन जितेको छ । रास्वपाले ३१ निर्वाचन क्षेत्रमा समेटिएको ११ जिल्लामा क्लिन स्वीप गरेके थियो । रास्वपाले रसुवा र सिन्धुपाल्चोक बाहेक अन्य सबै जिल्लामा निर्वाचन जितेको थियो । सिन्धुपाल्चोकको एक क्षेत्रमा रास्वपाको उम्मेदवारले चुनाव जित्दा एक क्षेत्रमा भने नेकपाको उम्मेदवारले चुनाव जितेका थिए र रसुवामा भने कांग्रेसका उम्मेदवारले चुनाव जितेका थिए ।
समानुपातिक तर्फबाट बागमती प्रदेशमा रास्वपाका सबैभन्दा धेरै १९ जना सांसद चुनिएका छन् । निर्वाचित हुनेहरुमा काभ्रेका राम लामा र रचना खतिवडा खत्री, ललितपुरका खुस्बु सरकार श्रेष्ठ, सुम्निमा उदास र प्रभा कार्की रहेका छन् । त्यस्तै, काठमाडौँबाट बसुमाया तामाङ, अनुष्का श्रेष्ठ, ओजस्वी शेरचन, सिर्जना श्रेष्ठ, लिमा अधिकारी (आचार्य), विधुषी राणा, समिक्षा बास्कोटा र सीता वादी निर्वाचित भएका छन् । नुवाकोटबाट शोभा खनाल, चितवनबाट प्रभा ढकाल र अफसाना बानु, दोलखाबाट स्मृति सेन्चुरी र ललितपुरबाट तारा विश्वकर्मा पनि रास्वपाबाट सांसद बनेका छन् ।
समानुपातिक तर्फबाट बागमती प्रदेशको प्रतिनिधित्व गर्दै नेपाली कांग्रेसबाट ५ जना निर्वाचित भएका छन् । जसमा भक्तपुरबाट मदनकृष्ण श्रेष्ठ (अपांगता कोटा) र गंगालक्ष्मी अवाल, नुवाकोटबाट अर्जुननरसिंह केसी, धादिङबाट सीता थपलिया र मकवानपुरबाट पवित्रा विक रहेका छन् । त्यस्तै, नेकपा एमालेबाट ४ जना निर्वाचित भएका छन् । जसमा धादिङबाट गंगादेवी श्रेष्ठ र पुष्पराज कँडेल, चितवनबाट रामबहादुर थापा मगर र काठमाडौँबाट कुलभक्त शाक्य रहेका छन् । नेपाली कम्युनिष्ट पार्टीबाट ललितपुरका प्रमेश कुमार हमाल र काठमाडौँका परशुराम तामाङ निर्वाचित भएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट धादिङकी सरस्वती लामा र काठमाडौँकी खुस्बु ओली निर्वाचित भएका छन् ।
निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को समानुपातिकतर्फ निर्वाचित सदस्यहरूको अन्तिम सूची सार्वजनिक गरेसँगै बागमती प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने सांसदहरूको जिल्लागत चित्र प्रष्ट भएको छ । बागमती प्रदेशका ९ जिल्लाबाट ३२ जना उम्मेदवारहरू विभिन्न राजनीतिक दलबाट समानुपातिक सांसदका रूपमा चुनिएका छन् । आयोगको विवरणअनुसार राष्ट्रिय दलको मान्यता पाएको श्रम संस्कृति पार्टीले देशभरबाट ४ सिट जिते पनि बागमती प्रदेशबाट भने उक्त पार्टीको कुनै पनि उम्मेदवार निर्वाचित हुन सकेनन् । गत निर्वाचनमा समानुपातिकतर्फ संघीय राजधानी समेत रहेको काठमाडौँ जिल्लाबाट सबैभन्दा बढी ११ जना सांसद निर्वाचित भएका छन् ।
रास्वपाले काठमाडौँ र ललितपुरबाट सांसद छान्दा भक्तपुर, मकवानपुर, सिन्धुली, रामेछाप, सिन्धुपाल्चोक लगायतका जिल्ला समेटिन सकेन । कांग्रेसले भक्तपुर, नुवाकोट, धादिङ र मकवानपुरलाई समेटेको छ भने एमालेले धादिङ, चितवन र काठमाडौँबाट प्रतिनिधित्व पाएको छ । काठमाडौँबाट रास्वपाका मात्रै ८ जना निर्वाचित भएका छन् । रास्वपाबाट काठमाडौंका बसुमाया तामाङ, अनुष्का श्रेष्ठ, ओजस्वी शेरचन, सिर्जना श्रेष्ठ, लिमा अधिकारी (आचार्य), विधुषी राणा, समिक्षा बास्कोटा र सीता वादी निर्वाचित भएका छन । एमालेबाट कुलभक्त शाक्य निर्वाचित हुँदा नेकपाबाट परशुराम तामाङ, राप्रपाबाट खुश्बु ओली निर्वाचित भएका छन् । निर्वाचनमा ललितपुरबाट ५ जनाले २ वटा दलबाट अवसर पाएका छन् । जसमा रास्वपाबाट खुस्बु सरकार श्रेष्ठ, सुम्निमा उदास, प्रभा कार्की र तारा विश्वकर्मा तथा नेकपाबाट प्रमेश कुमार हमाल रहेका छन् । धादिङबाट एमालेका गंगादेवी श्रेष्ठ र पुष्पराज कँडेल, कांग्रेसका सीता थपलिया र राप्रपाकी सरस्वती लामा गरी ४ जना समेटिएका छन् ।
चितवनबाट रास्वपाकी प्रभा ढकाल र अफसाना बानु र एमालेका रामबहादुर थापा मगर गरी ३ जना निर्वाचित भएका छन् । काभ्रेबाट रास्वपाबाट राम लामा र रचना खतिवडा खत्री, नुवाकोटबाट कांग्रेसका अर्जुननरसिंह केसी र रास्वपाकी शोभा खनाल समानुपातिकतर्फ सांसद बनेका छन् । भक्तपुरबाट कांग्रेसका मदनकृष्ण श्रेष्ठ (अपांगता/आदिवासी जनजाति क्लस्टर) र गंगालक्ष्मी अवाल समानुपातिक सांसद बनेका छन् भने दोलखाबाट रास्वपाकी स्मृति सेन्चुरी र मकवानपुरबाट कांग्रेसकी पवित्रा विक सांसद बनेका छन् । रास्वपाकी स्मृति सेन्चुरी र मकवानपुरबाट कांग्रेसकी पवित्रा विक सांसद बनेका छन् ।











