हेटौँडाः जनस्वास्थ्य कार्यालय मकवानपुरको आयोजना पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यलय प्रमुख किरण श्रेष्ठको सभाध्यक्षतामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा कार्यालयका जनस्वास्थ्य अधिकृत लक्ष्मण घिमिरेले चालु आर्थिक वर्ष २०८२/०८३ मा कार्यालयद्वारा सम्पादित कार्यक्रमहरुको प्रतगि विवरण प्रस्तुत गर्नुभयो । कार्यालयले एचपीभी खोप कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षमा मकवानपुर जिल्लामा ४ हजार ३ सय १२ खोप लगाउने लक्ष्य राखेको छ । हाल फागुन मसान्तसम्म लक्ष्यको ९५ प्रतिशत अर्थात ४ हजार ८६ वटा खोप लगाइएको छ ।
यस कार्यक्रम अन्तर्गत राक्सिराङ गाउँपालिकामा १९२ वटा खोप लगाउने लक्ष्य पूरा भएको छ । यस्तै, मकवानपुरगढी गाउँपालिकामा लक्ष्यको ९९ प्रतिशत, हेटौँडा उपमहानगरपालिकामा ९७ प्रतिशत, बागमती गाउँपालिका र मनहरी गाउँपालिकामा ९५ प्रतिशत, थाहा नगरपालिकामा ९३ प्रतिशत, बकैया गाउँपालिकामा ९१ प्रतिशत, इन्द्रसरोवर गाउँपालिकामा ८९ प्रतिशत, भीमफेदी गाउँपालिकामा ८६ प्रतिशत र कैलाश गाउँपालिकामा ८२ प्रतिशत प्रगति भएको छ ।
राष्ट्रिय क्षयरोग कार्यक्रम अन्तर्गत फागुन मसान्तसम्म १३ हजार ७ सय ४६ जनाको स्लाइड जाँच गरेकोमा २ सय ८७ जनामा पोजेटिभ देखिएको छ । एड्स तथा यौनरोग नियन्त्रण कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०८१/०८२ मा ९ हजार ५५९ सय जनाको जाँच गर्दा ४० जनामा पोजेटेभि भेटिएको थियो । गत वर्ष ३ जना व्यक्तिमा देखा परेका औलो रोग यो वर्ष पनि २ जनामा पोजेटिभ देखिएको छ ।
यस वर्ष अहिलेसम्म १ सय ८७ जना डेङ्गु रोगको बिरामी र स्क्रब टाइफस रोग लागेको बिरामीको सङ्ख्या ४६ जना रहेको छ । मकवानपुर जिल्लामा आर्थिक वर्ष २०८२/८३ मा ३७ वटा सडक दुर्घटनामा परेर हालसम्म १२ जनाको मृत्यु भएको छ भने ३१ जना महिला र ४८ जना पुरुषले आत्महत्या गरेका छन् । बागमती प्रदेश सरकारको एक विद्यालय एक नर्स कार्यक्रम अन्तर्गत मकवानपुरका ८४ वटा माध्यमिक विद्यालयमध्ये ४२ वटा विद्यालयमा मात्रै नर्स रहेका छन् ।
भीमफेदी गाउँपालिकामा सडक दुर्घटना रोकथाम तथा न्यूनीकरण सँगसँगै लागूऔषध सचेतना तथा परीक्षण कार्यक्रम सम्पन्न भएको कार्यालयले जनाएको छ । सो अन्तर्गत एक सय १४ जनाको जाँच गर्दा १२ जनामा लागूपदार्थ सेवन गरेको पाइएको छ । जनस्वास्थ्य कार्यालय मकवानपुर र स्थानीय तहले मासिक प्रगति प्रतिवेदन प्रकाशन गर्दै आएको छ ।











