उपाधि साथ मंगलेश्वर युवा क्लबका खेलाडी र आयोजक समितिका पदाधिकारी ।

हेटौँडा : मकवानपुर जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि मंगलेश्वर युवा क्लबले जितेको छ । हेटौँडामा जारी दोस्रो वृहत् खेलकुद, कृषि तथा पर्यटन महोत्सवमा भएको प्रतियोगिताको फाइनलमा खेलमा मंगलेश्वर युवा क्लबले छहारी युवा सेवा समाजलाई पराजित गरेको हो ।

मंगलबार भएको फाइनल खेलमा मंगलेश्वर क्लबले छहारी युवा सेवा समाजलाई २७–२५, २५–२० र २५–१६ को सोझो सेटमा पराजित गरेको हो । प्रतियोगिताको उपाधि विजेता मंगलेश्वरले एक लाख र उपविजेता छहारीले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र गरेको छ । मंगलबार बिहान भएको पहिलो सेमिफाइनल खेलमा थाहा–२ को मंगलेश्वर युवा क्लबले थाहा–६ को नवप्रतिभा साँस्कृतिक युवा क्लबलाई र दोस्रो सेमिफाइनल खेलमा हेटौँडा–११ को छहारी युवा सेवा समाजले मनहरी गाउँपालिकालाई पराजित गरेर फाइनलमा प्रवेश गरेको थियो ।