Home खेलकुद खेलकुद महोत्सवमा जिल्लास्तरीय भलिबल सुरु

खेलकुद महोत्सवमा जिल्लास्तरीय भलिबल सुरु

थाहा नगरपालिकाको मंगलेश्वर युवा क्लब र हेटौंडा–१५ स्थित सफल केयर क्लबबीच खेल हुँदै ।

हेटौंडा : हेटौँडामा जारी दोस्रो वृहत् खेलकुद, कृषि तथा पर्यटन महोत्सवमा मकवानपुर जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । मकवानपुर जिल्ला भलिबल संघसँगको सहकार्यमा सुरु भएको प्रतियोगिताको पहिलो खेलमा थाहा नगरपालिकाको मंगलेश्वर युवा क्लब र हेटौंडा–१५ स्थित सफल केयर क्लबबीच भएको छ ।

महोत्सवस्थल हेटौँडा–१०, टिसिएनचौरमा सुरु भएको प्रतियोगितामा मकवानपुर जिल्लाका ८ वटा टिमको सहभागिता रहेको आयोजक समितिका नरेन्द्र मोक्तानले बताए । प्रतियोगितामा थाहा–२ स्थित मङ्गलेश्वर युवा क्लब, हेटौँडा–११ स्थित छहारी युवा क्लब, मनहरी गाउँपालिका, हेटौंडा–९ स्थित पशुपति युवा क्लब, बागमती गाउँपालिका, थाहा–६ स्थित नवप्रतिभा साँस्कृतिक युवा क्लब, हेटौँडा–१५ स्थित सफल केयर क्लब, हेटौँडा–३ स्थित मिलन युवा क्लब र थाहा–२ स्थित मङ्गलेश्वर युवा क्लबको सहभागिता रहेको छ ।

प्रतियोगिताको उपाधि विजेता टिमले एक लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । सेमीफाइनलमा पराजित हुने दुई टिमले १५/१५ हजार रुपैयाँसहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, प्रतियोगितामा ७ वटा विधाका खेलाडीहरुलाई नगदसहित मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ५ हजार रुपैयाँ प्रदान गरिने छ भने अन्य उत्कृष्ट लिब्रो, उत्कृष्ट स्पाइकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सर्भर, उत्कृष्ट प्रशिक्षक र उदीयमान खेलाडीलाई २/२ हजार रुपैयाँ नगदसहित पुरस्कृत गरिने छ । राष्ट्रिय महिला भलिबल प्रतियोगिता भने चैत ४ गतेबाट सुरु हुनेछ ।

Exit mobile version