Home मुख्य समाचार राष्ट्रिय रोटरी माविको अभिभावक भेला सम्पन्न

राष्ट्रिय रोटरी माविको अभिभावक भेला सम्पन्न

अभिभावक भेलामा सहभागी अभिभावकहरु ।

हेटौंडा : मनहरी–७ स्थित राष्ट्रिय रोटरी माविको २९औं अभिभावक भेला बुधबार सम्पन्न भएको छ । भेलाले विद्यालय व्यवस्थापन समितिको सदस्यहरु चयन गरेको छ । चयन भएका सदस्यहरुमा माया सुनार, सीता भ्लोन, रञ्जु परियार, सावित्री मोक्तान रहेका छन् । ७ सदस्यीय समितिका लागि बाँकी सदस्यहरु पदेन रुपमा विद्यालय प्रधानाध्यापक, शिक्षक प्रतिनिधी तथा वडा कार्यालयको प्रतिनिधी रहने छन् ।

कार्यक्रममा प्रतिनिधीसभा सदस्य प्रशान्त उप्रेतीले ऐलानी जग्गामा बनेका विद्यालयहरुमा सरकारबाट प्राप्त निर्माण सहयोगहरु प्रयोग गर्न नपाइएको भन्ने गुनासो बढिरहेकोले समस्या समाधानका लागि पहल गरिने बताउनुभयो । ऐलानी जमिनमा विद्यालय हुँदा पाइने बजेट रोकिने समस्या देशैभर रहेकोले यसको दिर्घकालीन समाधान खोजिने समेत बताउनुभयो । कार्यक्रममा मनहरीमा रोटरी मावि मात्र नभई करिब ९० प्रतिशत नै ऐलानी जग्गामा सञ्चालित भएकोले यो समस्या निराकरण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

अभिभावक भेलाको अवसरमा शैक्षिकसत्र २०८२ को वार्षिक परीक्षामा उत्कृष्ट नतिजा ल्याएका विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । यस्तै शिक्षक अभिभावक संघको अध्यक्षमा शर्मिला अर्याल हमाल सर्वसम्मत चयन हुनुभएको छ । प्रतिनिधीसभा सदस्य प्रशान्त उप्रेतीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा मनहरी गाँउपालिकाका अध्यक्ष रञ्जन कालाखेती, उपाध्यक्ष सीता पुलामी मगर, वडा नम्बर ७ का अध्यक्ष ठाकुरराम तितुङ, विद्यालय बाल क्लबकी अध्यक्ष उपमा स्याङ्तान लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

Exit mobile version