हेटौँडा : २०३२ सालमा स्थापित हेटौँडा–९ स्थित प्रगति माविले समय–समयमा कक्षा १० को एसईईमा जिल्लामै उत्कृष्ट नतिजा ल्याइरहेको छ । विगतमा एसएलसी परीक्षामा पनि उत्कृष्ट नतिजा हासिल गर्दै आएको विद्यालयले आफ्नो पहिचानलाई निरन्तरता दिने प्रयास गरिरहेको छ ।
२०६०, २०६१ र २०६३ सालको एसएलसीमा ९६ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएको यस विद्यालयले २०६२ सालमा ८६ प्रतिशत नतिजा प्राप्त गर्न सफल भएको थियो । विगतमा जिल्लामै उत्कृष्ट विद्यालयको पहिचान बनाएको विद्यालयले गत वर्ष १ सय १८ जना विद्यार्थी एसइईमा समावेश भएकोमा ८२ प्रतिशत नतिजा प्राप्त गरेको थियो । जसमा १२ जनाले ३.६ भन्दा माथिको जीपीए हासिल गरेका थिए ।
हाल विद्यालयमा प्राथमिक तहमा १६ जना, निमाविमा ८ जना र मावि तहमा ९ जना शिक्षक दरबन्दी रहेको छ । विद्यालयले १ जना निमावि तहमा र १० जना प्रावि तहमा गरी ११ जना निजी स्रोतबाट शिक्षकहरु नियुक्त गरेको छ । विद्यालयमा इसीडीदेखि कक्षा ९ सम्म पूर्ण अंग्रेजी माध्यमबाट पठनपाठन हुने गरेको छ । कक्षा १०, ११ र १२ मा अंग्रेजी र नेपाली दुबै माध्यमबाट पठनपाठन हुने गरेको छ ।
विद्यालयले शैक्षिक गुणस्तर सुधारका लागि अघिल्लो वर्ष कक्षाकोठामा हुने सिकाइ प्रभावकारी बनाउन शिक्षकहरुलाई तालिम दिएको विद्यालयका प्रधानाध्यापक किशोर पराजुलीले बताउनुभयो । कतिपय विद्यालयहरुमा माथिल्लो कक्षालाई बढी ध्यान दिएको पाइए पनि यस प्रवृत्तिलाई तोड्दै सानो कक्षाका बालबालिकाको सिकाइलाई बढी ध्यान दिने निर्णय गर्दै सानालाई ध्यान दिने गरेको पराजुलीको दावी छ । उहाँले साना बालबालिकाको पठनसीप विकास गर्न शिक्षकलाई तालिम र मूल्याङ्कन गरिएको जानकारी दिनुभयो ।
अघिल्लो वर्ष बालकक्षादेखि कक्षा ५ सम्मको बालबालिकाहरुको पठनसीप विकास तालिम दिइएकोमा यस वर्ष कक्षा ६ र ७ लाई समावेश गर्ने विद्यालयको योजना छ । विशेषगरी भाषा शिक्षकहरुबाट विद्यार्थीलाई पुस्तक विवेचना, विश्लेषण गर्ने पठन संस्कृतिमा बढावा दिने विषयमा तालिम दिने तयारी विद्यालयको छ ।
यस्तै, साना कक्षामा अध्ययनरत विद्यार्थीको पठनपाठनमा ह्रास आइरहेकोले विद्यालयले जेठ महिनाबाटै कमजोर विद्यार्थीलाई अभिभावकको समन्वयमा सुधारात्मक कक्षा सञ्चालन गर्ने तयारीसमेत गरिरहेको छ । गतवर्ष कक्षा १० का ७५ जना विद्यार्थीहरुलाई वर्षे बिदाको सदुपयोग गर्दै व्यावसायिक सीप विकासका लागि सौन्दर्यकर्मी, कपाल काट्ने, बारिष्टा र इलेक्ट्रिसियनको ७ दिने तालिमसमेत प्रदान गरिएकोमा यसवर्ष पनि कार्यक्रमलाई निरन्तरता दिने विद्यालयले जनाएको छ, । प्रधानाध्यापक पराजुलीले यस्ता तालिम सञ्चालनले मध्यमस्तरको जनशक्तिसमेत तयार हुने र भविष्यमा कमाउँदै पढ्दै गर्न सहज हुने उल्लेख गर्नुभयो । भविष्यमा आवश्यकताअनुसार तालिमको विषय फरक हुनसक्ने भए पनि तालिम प्रभावकारी भएको उहाँको अनुभव छ ।
विद्यालयमा बालबालिकाको पठनपाठनबारे चासो नलिने, चासो लिए पनि समय दिन नसक्ने अभिभावकहरु रहेकोले कक्षाको संयोजक शिक्षकले अभिभावककै समय अनुकूल अभिभावक भेटघाटको व्यवस्थापन गर्ने गरेको पराजुली बताउनुहुन्छ । उहाँले अभिभावकहरुसँग आवश्यकताअनुसार व्यक्तिगत छलफल गर्ने गरेको स्पष्ट पार्नुभयो । गत वर्ष सुरु गरिएकोमा यो प्रभावकारी देखिएकोले यस शैक्षिक सत्रमा पनि निरन्तरता दिने विद्यालयको योजना छ । साथै, अनियमित हुने तथा कक्षामा अनुपस्थित हुने विद्यार्थीको बारेमा विद्यालयले विशेष ध्यान दिने गरेको उहाँले बताउनुभयो । अघिल्लो वर्ष अभिभावक शिक्षा कार्यक्रम एक पटक गरेकोमा यसवर्ष ५ पटक गर्ने विद्यालयले योजना बनाएको छ ।
विद्यालयमा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा जनप्रतिनिधिहरु, शिक्षकहरु र अभिभावकहरु लगायत सबै पक्षबीच राम्रो समन्वय रहेकोमा पराजुली खुसी व्यक्त गर्नुहुन्छ । विद्यालय व्यवस्थापन समितिमा पनि पूरै पदाधिकारी तथा सदस्यहरु अभिभावकहरु नै रहेकोले कुनै राजनीतिक प्रभाव नहुने हुँदा पनि विद्यालय व्यवस्थापनमा सहज भएको उहाँको भनाइ छ । सबै मिलेर वर्षे बिदामा समेत निःशुल्क कक्षा सञ्चालन गरिएको उहाँले बताउनुभयो ।
विद्यालय तहको शैक्षिक गुणस्तर सुधारका लागि विद्यालयले आधारभूत तहलाई बढी ध्यान दिनु जरुरी हुने पराजुलीको भनाइ छ । विद्यालयले माथिल्लो तहको कक्षामा बढी ध्यान दिएमा तत्काल नतिजा राम्रो देखे पनि दीर्घकालीन रुपमा भने जग बलियो नहुने तर्क प्रधानाध्यापक पराजुलीको छ । उहाँले आधारभूत तहमा निगरानी गरी सुधार गर्दै जानु आवश्यक रहेकोमा जोड दिनुभयो ।
यस्तै, विद्यार्थीहरुको सिक्ने शैली तथा पठनपाठनको शैलीअनुसार शिक्षकहरुलाई परिवर्तन हुनुपर्ने उहाँको विचार छ । साना बालबालिकाको मानसिक स्वास्थ्यलाई पनि ध्यान दिई पठनपाठन सञ्चालन गर्नुपर्नेमा पराजुलीले जोड दिनुभयो । विद्यालय सञ्चालनका सबै पक्ष अभिभावक, शिक्षक तथा जनप्रतिनिधिहरुको समन्वयकारी भूमिका भएमा विद्यालयको सुधारमा बल पुग्ने विचार उहाँले व्यक्त गर्नुभयो ।
