हेटौँडा : मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा हेटौँडामा जारी दोस्रो वृहत् खेलकुद, कृषि तथा पर्यटन महोत्सव अन्तर्गत मकवानपुर जिल्लास्तरीय खुल्ला डबल्स व्याड्मिन्टन प्रतियोगिताको उपाधि हेटौँडा–५ का बीरु गुरुङ र चेतन विश्वकर्माको जोडीले जितेको छ ।
शनिबार हेटौँडा–११, थानाभर्याङस्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको प्रतियोगितामा हेटौँडा–१० का राम थापा मगर र महेश बोहोराको जोडीलाई पराजित गर्दै गुरुङ र विश्वकर्माको जोडीले उपाधि जितेका हुन् । हेटौँडा–५ का अजय बजागाईं र हेटौंडा–११ का नितिन थापाको जोडी तेस्रो हुँदा भीमफेदी गाउँपालिकाका भोजराज जोशी र सुमन अर्यालको जोडी सान्त्वना भएका छन् ।
प्रतियोगिताको उपाधि विजेता, उपविजेता, तेस्रो र सान्त्वना हुनेहरुले क्रमशः २० हजार रुपैयाँ, १० हजार रुपैयाँ र ५ हजार रुपैयाँसहित मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका बीरु गुरुङले नगद २ हजार रुपैयाँसहित मेडल तथा ट्रफी प्राप्त गरेका छन् ।
उनीहरुलाई हेटौँडा–१० स्थित टिसीएन चौरमा आयोजित महोत्सवमा मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो । पुरस्कार वितरण कार्यक्रममा जिल्ला खेलकुदका अध्यक्ष राजकुमार मोक्तान, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलान, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीले पुरस्कार प्रदान गरे । महोत्सवमा कराँते, तेक्वान्दो, भलिबल लगायतका खेलहरु सञ्चालन हुनेछ । मकवानपुर जिल्ला व्याड्मिन्टन संघको सहकार्यमा शुक्रबार सुरु भएर शनिबार प्रतियोगिता सम्पन्न भएको हो ।











