ग्यास डिलरको अनुगमन गर्दै ।

हेटौँडा : बजारमा एलपी ग्यासको अभाव भएको जनगुनासो बढेपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले बजार तथा उद्योग अनुगमन गरेको छ । बजारमा ग्यास किन्न जाँदा पसलहरुमा नपाइएको तथा भाडामा बस्ने विद्यार्थीहरु लगायतले ग्यास नपाएको भन्ने जनगुनासो बढेपछि अनुगमन गरिएको हो ।

शनिबार जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा नापतौल तथा गुणस्तर कार्यालय पर्सासहित उपभोक्ता हित संरक्षण मञ्च, हेटौंडा उपमहानगरपालिका, जिल्ला प्रहरी कार्यालय, उद्योग तथा वाणिज्य कार्यालय मकवानपुर सहितको दुइ टोलीले अनुगमन गरेको थियो । अनुगमन टोलीहरुले हेटौँडा नगरभित्रका सबै १५ वटै एलपी ग्याँसका डिलरहरु तथा हेटौँडा–३ स्थित सहारा ग्याँस उद्योगमा आकस्मिक अनुगमन गरेको जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत गुणराज न्यौपानेले जानकारी दिनुभयो । अनुगमन टोलीले हेटौँडा नगरका सबै ग्याँस डिलरहरुमा गएर नापतौल तथा गुणस्तर कार्यालय पर्साको समन्वयमा सिलिण्डरहरु नापतौल समेत गरेको थियो ।

अनुगमनबाट कुनै पनि ग्यास डिलरमा ग्याँसको कमी नरहेको पाइएको तथा हेटौँडा–३ मा रहेको सहारा ग्यास उद्योगमा पनि बाहिरबाट पर्याप्त ग्याँस उपलब्ध भइरहेको पाइएको अधिकृत न्यौपानेले बताउनुभयो । उहाँले पूर्ववत रुपमै बजारको माग अनुसारको आपूर्ति भइरहेको पाइएको र कुनै डिलरमार्फत पनि उपभोक्ता समक्ष बजारमा पठाइने ग्यास सिलिण्डरको संख्यामा कमि नभएको समेत स्पष्ट पार्नुभयो । पछिल्लो समय मध्यपूर्व तथा खाडी मुलुकहरुमा चलिरहेको युद्धका कारण नेपालको तल बजार प्रभाव परेको भन्दै उपभोक्ताहरुले एकैपटक धेरै संख्यामा खरिद गरेर राख्ने गरेकोले तत्कालीक रुपमा मात्रै बजारमा एलपि ग्याँस सिलिण्डर नपाइएको समेत उहाँले उल्लेख गर्नुभयो । उहाँका अनुसार सहारा ग्याँस उद्योगमा प्रतिमहिना २४ हजार सिलिण्डर उत्पादन तथा वितरण गर्दै आएकोमा फागुन महिनामा ३२ हजार सिलिण्डर ग्याँस वितरण गरिएको अनुगमनमा देखिएको पनि न्यौपानेले बताउनुभयो ।

बजार मागभन्दा पनि बढी ग्याँस वितरण गर्दा पनि हाललाई ग्याँस पर्याप्त भएपनि भविष्यमा संकट पर्नसक्ने मनोविज्ञानले गर्दा सर्वसाधारण उपभोक्ताहरुले सञ्चय गरेर राख्नका लागि खरिद गरेको व्यवसायीहरुले बताएका छन् । हेटौँडा–९ स्थित एम के सप्लायर्सका प्रोप्राइटर मदन कुमार न्यौपानेले उपभोक्ताहरुले धेरै पुराना र थन्किएका सिलिण्डरहरु समेत बजारमा लिएर आएको पाइएको बताउनुभयो । यतिखेर यसअघि प्रयोग नगरी राखिएका सिलिण्डर भर्नेको लाइन लाग्ने गरेकोले विद्यार्थी, कोठा भाडामा बस्नेहरुसँग सिलिण्डरको कमि भएकोले उनीहरुलाई भने असर परेको बताउनुभयो । उहाँले खाडी क्षेत्रको युद्ध लम्बियो भने साँच्चै असर गर्ने भएकोले यो अवस्थालाई सरकारले विद्युतीय चुलोहरुको प्रयोग बढाउन विभिन्न सुविधा दिनुपर्नेमा समेत जोड दिनुभएको छ ।

दिर्घकालीन हिसाबले आधा सिलिण्डर मात्र ग्याँस वितरण सँगै पनि इन्डक्सन तथा इन्फ्रारेड लगायतका विद्युतीय चुलोहरुको प्रयोगलाई सरकारले कार्यक्रम मार्फत नै प्रोत्साहन गर्नु राम्रो हुने उहाँको बुझाइ छ । फागुन २९ गतेदेखि लागु हुने गरी नेपाल सरकारले आधा सिलिण्डर अर्थात ७.१ केजी ग्याँस वितरण गर्ने निर्णय गरेको थियो । यस्तै हाललाई सिलिण्डर भर्ने मात्र सुविधा दिइएको छ । नयाँ सिलिन्डर खरिद बिक्रि हाललाई बन्द गरिएको छ ।