हेटौँडा : काठमाडौंमा जारी प्रधानमन्त्री कप बागमती प्रदेशस्तरीय क्रिकेट प्रतियोगितामा मकवानपुरले चितवनलाई १५० रनमै रोकेको छ । टस जितेर पहिले व्याटिङ गरेको चितवनले सातौं नम्बरमा आएका दिपेश श्रेष्ठको उत्कृष्ट प्रदर्शनका बाबजुद १ सय ५० रनमै समेटिएको हो ।
दिपेशले ७१ रनको उत्कृष्ट पारी खेले । १३ ओभर ३ बलमा ४८ रन जोड्दा चितवनले ६ विकेट गुमाएको थियो । ८ विकेट गुमाएर ७० रनको स्थितिमा दिपेशले उत्कृष्ट खेल्दै १५० सम्म पुर्याएका हुन् । नवौं विकेटका लागि दिपेशलाई सौगात ढकालले साथ दिएका थिए । सौगातको विकेट जाँदा चितवन १ सय २३ रनको स्थितिमा थियो । चितवनका रोविन शर्मा शून्यमा आउट हुँदा प्रतिक श्रेष्ठ, रोशन झा, पवन बहादुर थापा, आदर्श दुलाल र क्रिजन गुरुङ समान १ रन बनाएर आउट भएका छन् ।
मकवानपुरका रिजन ढकाल र सागर गजुरेलले ३/३ विकेट लिँदा रोहित ठाकुरले २ विकेट लिएका छन् । केहीबेरमा मकवानपुरले जवाफी व्याटिङ थाल्नेछ । मकवानपुरले यो खेल जितेर फाइनल खेल खेल्ने सम्भावना कायमै राख्ने छ । अहिले नुवाकोट र त्रिभुवन विश्वविद्यालयबीच पनि खेल भइरहेको छ ।











