हेटौँडा : बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशको गौरवको रुपमा गौरीटार रंगशालालाई अघि बढाउन प्रदेश सरकारले १ अर्बभन्दा बढी लगानी गर्ने बताउनुभएको छ । शुक्रबार हेटौँडामा सुरु भएको दोस्रो वृहत खेलकुद, कृषि तथा पर्यटन महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री बानियाँले गौरीटार रंगशालालाई गौरवको आयोजनाको रुपमा अघि बढाउन लागिएको जानकारी दिनुभएको हो ।
मुख्यमन्त्री बानियाँले यसअघि केही करोडमात्र लगानी गरेकोमा अब यस रंगशालामा सिन्थेटिक ट्रयाक, खेलमैदान, स्विमिङ पुल, हेल्थ क्लब, ब्याटमिन्टन, बास्केटबल, क्रिकेटलगायतका अधिकांश खेल सुविधासहितको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता गर्नसक्ने गरी निर्माण गर्न लागिएको स्पष्ट पार्नुभयो । उहाँले बागमती प्रदेश खेलकुद विकास समितिले पनि अबको एक महिनाभित्रै खेल महोत्सव आयोजना गर्न लागेको बताउनुभयो ।
मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा सुरु भएको खेलकुद महोत्सवमा विभिन्न खेलकुद प्रतियोगिता सञ्चालनका साथै सामग्री प्रदर्शनी तथा बिक्री गरिनेछ । महोत्सवमा ३ सय ५० भन्दा बढी स्टलहरु रहेका छन् । महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको साँस्कृतिक प्रस्तुति पनि रहने आयोजकले जनाएको छ ।
शुक्रबारदेखि सुरु भएको महोत्सव चैत १४ गतेसम्म सञ्चालन हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजकुमार मुक्तानले जानकारी दिनुभयो । खेलकुद महोत्सवमा राष्ट्रिय महिला भलिबल प्रतियोगिता, राष्ट्रिय तेक्वान्दो प्रतियोगिता, जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगिता, जिल्लास्तरीय कराँते प्रतियोगिता, जिल्लास्तरीय ब्याडमिन्टन प्रतियोगिता र १० किलोमिटर महिला पुरुष दौड प्रतियोगिता राखिएको छ । १० किलोमिटर महिला पुरुष दौड प्रतियोगिता शुक्रबार नै सम्पन्न भइसकेको छ भने जिल्लास्तरीय ब्याडमिन्टन प्रतियोगिता शुक्रबार सुरु भएको छ ।
उद्घाटन कार्यक्रममा मुख्यमन्त्री बानियाँका साथै मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोदसिंह रानाभाट, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी, हेटौँडा उपमहानगरपालिकाको वडा नम्बर ११ की अध्यक्ष जुना दाहाललगायत जिल्लास्थित खेलकुद संघ, संस्थाका प्रमुखहरुको सहभागिता थियो ।
