हेटौँडा : पुरुष एक दिवसीय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता–२०८२ अन्तर्गत बागमती प्रदेशस्तरीय छनोट प्रतियोगितामा मकवानपुरले लगातार दोस्रो हार व्यवहोरेको छ । बुधबार काठमाडौंसँग ५ विकेटले पराजित भएको छ । यसअघि पहिलो खेलमा भक्तपुरसँग पराजित भएको थियो ।
बुधबार तल्लो मुलपानी क्रिकेट मैदानमा भएको खेलमा टस जितेर व्याटिङ रोजेको मकवानपुरले ३१ दशमलव २ ओभरमा १ सय ३० रनमा अलआउट हुन पुग्यो । मकवानपुरका लागि सक्षम बस्टाकोटीले सर्वाधिक ४२ रन बनाए । तक्षक सिम्खडाले १९ रन र स्वरुप श्रेष्ठले १४ रनको योगदान गरे । मकवानपुरका शुभ कंसाकारले २ विकेट, रिजन ढकाल, सकार गजुरेल र स्वरुप श्रेष्ठले समान १/१ विकेट लिए ।
१ सय ३१ रनको झिनो लक्ष्य पछ्याएको काठमाडौंले ५ विकेटको क्षतिमा जित दर्ता गर्यो । काठमाडौंले २६ दशमलव १ ओभरमा ५ विकेट गुमाएर लक्ष्य भेटाएको हो । काठमाडौंका रित गौतम र उत्तम थापा मगरले समान ३६/३६ रन बनाए । संदिप पराजुलीले ४ विकेट र दयानन्द मण्डलले ३ विकेट लिए । खेलमा उत्कृष्ट बल्लिङ गरेका काठमाडौंका संदिप पराजुली म्यान अफ द म्याच घोषित भए । यसअघि सोमबार भएको खेलमा काठमाडौंले नुवाकोटलाई ५९ रनले पराजित गरेको थियो । समान खेल खेलेका काठमाडौं ४ अंकसहित अंक तालिकाको दोस्रो स्थान रहेको छ भने अंकविहिन मकवानपुर तालिकाको पाँचौँ स्थानमा रहेको छ । प्रतियोगितामा ७ वटा टोली सहभागी छन् ।
