हेटौँडा : हेटौँडा–१३, पदमपोखरीस्थित फेमकोल एकेडेमीमा शुक्रबार निःशुल्क स्वास्थ्य शिविर आयोजना हुने भएको छ । शिविरमा विद्यार्थीहरूको आँखा, दाँत र कानको परीक्षण गरिनुका साथै रगत समूह परीक्षण र आवश्यक स्वास्थ्य परामर्श सेवा प्रदान गरिने विद्यालयकी प्रशासन प्रमुख सुष्मा नकर्मीले जानकारी दिनुभएको छ ।
शिविरमा डा. रञ्जनाले विद्यार्थीहरुको दाँत जाँच गर्नुहुने छ । शिविरमा पदमपोखरी अस्पताल र रक्तसञ्चार केन्द्र हेटौँडाको प्राविधिक सहयोग रहने विद्यालय प्रशासनले जनाएको छ । विद्यालयले विगत ४ वर्षदेखि निरन्तर रूपमा यस्ता स्वास्थ्य शिविरहरू आयोजना गर्दै आएको छ । १० कक्षासम्म पठनपाठन हुने फेमकोल एकेडेमीमा ७ सय विद्यार्थी अध्ययनरत छन् । विद्यालयमै स्वास्थ्य शिविर आयोजना भएपछि विद्यार्थीहरूले सहजै स्वास्थ्य परीक्षण गराउन पाउने र स्वास्थ्य अवस्थाबारे जानकारी लिन पाउने छन् ।
