हेटौँडा : प्रतिनिधि सभा सदस्य निर्वाचन-२०८२ अन्तर्गत मकवानपुरमा प्रहरीले सुरक्षाको कार्य पूरा गरेको छ । मंगलबार बिहान समानुपातिकतर्फको पनि मतगणना सकिएर मतदान केन्द्रबाट मतपेटिकासहित निर्वाचन सामग्री व्यवस्थापन गरेसँगै निर्वाचनमा सुरक्षाको काम सकिएको मकवानपुर प्रहरीका प्रमुख प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिनुभयो ।
प्रहरीले सतर्कताका साथ सुरक्षाको काम पूरा गरेको, कुनै किसिमको अप्रिय घटना नभएको प्रहरी उपरीक्षक खत्रीले जानकारी दिनुभयो । निर्वाचनको मौन अवधि सुरु भएदेखि मतगणनाको कार्य पूरा नभएसम्म मादकपदार्थ विक्री वितरण तथा प्रयोगमा प्रशासनले निषेध गरेको थियो । प्रहरीले निर्वाचनको मौन अवधि सुरु भएदेखि २२ जनालाई मादक पदार्थ सेवन गरेको, मादक पदार्थ विक्री वितरण गरेको अभियोगमा नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएकाहरुमध्ये केहीलाई दिनभर प्रहरी कार्यालयमा राखेर साँझ छाडेको, केहीलाई एक रात हिरासतमा राखेर छाडेको प्रहरी उपरीक्षक खत्रीले बताउनुभयो ।
यस्तै निर्वाचन सफलतापूर्वक सम्पन्न भएको उल्लेख गर्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले निर्वाचनलाई मर्यादित र भयमुक्त बनाउन सहयोग गर्ने सम्पूर्णलाई आभार व्यक्त गरेको हो । निर्वाचन सफल बनाउन मतदाता, राजनीतिक दल, उम्मेदवार र कर्मचारी लगायत सबै पक्षले आचारसंहिता पालना गरी सहयोग गरेकोले सौहाद्र्धपूर्ण वातारणमा निर्वाचन सम्पन्न भएको कार्यालयले जनाएको छ । जिल्ला प्रशासन कार्यालयले मंगलबार एक विज्ञपति जारी गरी निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभाग, राष्ट्रसेवक कर्मचारी, शिक्षक, विद्यालय, नागरिक समाज, सञ्चारकर्मीसहित सम्पूर्ण सरोकारवालाप्रति आभार व्यक्त गरेको छ ।
