Home जीवनशैली तीन वर्षमा पनि बनेन तामाङ संग्रहालय भवन

तीन वर्षमा पनि बनेन तामाङ संग्रहालय भवन

हेटौँडा–१० मा निर्माणाधिन तामाङ संग्रहालय भवन ।

हेटौंडा : निर्माण थालेको ३ वर्षमा पनि हेटौँडामा तामाङ संग्रहालयको भवनको निर्माण कार्य पूरा भएको छैन । हेटौँडा उपमहानगरपालिकाले हेटौँडा–१० स्थित टिसिएनचौरमा तामाङ संग्रहालयको भवन निर्माण गरिरहेको छ । तामाङ सङ्ग्रहालय भवन निर्माणका लागि बजेट अभाव भएको बताइएको छ ।

आर्थिक वर्ष २०८०/०८१ मा निर्माण सुरु गरिएको भवन तीन वर्ष पुग्दै गर्दा आधारभूत संरचना समेत बनेको छैन । साढे दुइ तले निर्माणाधिन संग्रहालय भवनमा ढलान समेत सम्पन्न भइसकेको छैन । नगरप्रमुख मीना कुमारी लामाले तामाङ जनसंख्याको बाहुल्य रहेको मकवानपुर जिल्लामा तामाङ जातिको संस्कार तथा संस्कृतिको संरक्षण तथा सूचना प्रदान गर्ने उद्देश्यले संग्रहालय निर्माणको थालनी गर्नुभएको थियो ।

सङ्ग्रहालयमा तामाङ समुदायका जीवनशैली झल्काउने सामग्रीहरु, तामाङ समुदायले प्रयोग गर्ने सामग्रीहरु, विवाह संस्कार, मृत्यु संस्कार लगायतका खानेकुरा, भेषभुषा तथा पोषाक, खेतीबाली, बाजागाजा, लोक संस्कृति, तामाङ समुदायका रहनसहन तथा जीवनशैली र लोप हुँदै गएका विषयहरुलाई संरक्षण गर्ने उद्देश्यले सङ्ग्रहालय निर्माण गर्न लागिएको हो ।

भवनमा सङ्ग्रहालयका लागि आवश्यक पर्ने तामाङ समुदायको संस्कृति प्रदर्शनस्थल तथा पुस्तकालय, सभा कक्ष लगायतका संरचनाहरु निर्माण गरिने सङ्ग्रहालय निर्माण समितिका संरक्षक किरनमान बलले जानकारी दिनुभएको छ । भवन निर्माणका लागि अघिल्ला वर्षहरुमा बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयमा र सामाजिक विकास मन्त्रालयमा पनि बजेट सहयोग माग गरेकोमा प्राप्त हुन नसकेको उहाँले जानकारी दिनुभयो । पर्याप्त बजेट भए सम्पन्न भइसक्ने भएपनि बजेटको अभावमा काम निकै सुस्त भइरहेको छ ।

संग्रहालयको भवन निर्माणका लागि हेटौँडा उपमहानगरपािलकाले पहिलो वर्ष ६१ लाख रुपैयाँ खर्च गरेको छ । संग्रहालयको भवन निर्माण गर्न नेपाल तामाङ घेदुङबाट १ लाख, ह्याङ्ला तामाङ समाजको तर्फबाट १ लाख ११ हजार र अन्य व्यक्ति तथा संस्थाहरुबाट ६ लाख रुपैयाँ संकलन गरिएको संरक्षक बलले बताउनुभयो । आर्थिक वर्ष २०८१/८२ मा पनि हेटौँडा उपमहानगरपालिकाबाट ४५ लाख रुपैयाँ बजेट खर्च भएको थियो भने चालु आर्थिक वर्षमा ४० लाख रुपैयाँ बजेट विनियोजन भएको छ । संग्रहालय निर्माणका लागि भीमफेदी गाउँपालिका र बागमती गाउँपालिकाले पनि ५/५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

यसअघि रसुवा जिल्लामा तामाङ संग्रहालय स्थापना गरिएको छ । जेनजी आन्दोलनमा हेटौँडा उपमहानगरपालिकामा आगजनी तथा तोडफोड हुँदा तामाङ संग्रहालयको कागजात पनि जलेकोले नक्सा, योजना विवरण तथा लागत मूल्याङ्कन लगायतका काम दोहोर्‍याएर गर्नुपरेको बताइएको छ ।

साढे दुइ तलाको भवन निर्माणका लागि ३ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । यस चालु आर्थिक वर्षको बजेट प्राप्त भएपछि भवन फिनिसिङ तथा अन्डर ग्राउन्ड फिनिसिङको काम अघि बढाइने समितिले जनाएको छ । आगामी वर्षदेखि संग्रहालयका लागि आवश्यक पर्ने कलाकृति लगायत विभिन्न सामग्रीहरू जुटाउन थालिने र दुइ वर्ष भित्र नै संग्रहालय सञ्चालनमा ल्याउने उद्देश्यसहित काम भइरहेको बलले जनाउनुभयो । संग्रहालय निर्माणपछि पर्यटकहरुलाई तामाङ समुदायको सम्पूर्ण साँस्कृतिक पक्षबारे बुझ्न सहज हुने र लोप हुनसक्ने तामाङ समुदायको पहिचान सुरक्षित पार्न सहज हुने समितिले जनाएको छ ।

Exit mobile version