कुखुरा व्यवसायीले सहयोग स्वरुप अण्डा हस्तान्तरण गर्दै ।

हेटौंडाः मकवानपुर कुखुरा व्यवसायी संघले मकवानपुरको थाहा नगरपालिकालाई कुखुराको अण्डा र मासु सहयोग गरेको छ । नगरपालिकाले सञ्चालन गरेको क्वारेन्टिनमा बसेकालाई दैनिक प्रतिव्यक्ति दुई वटा अण्डा र साताको दुईदिन कुखुराको मासु उपलब्ध गराएको मकवानपुर कुखुरा व्यवसायी संघकी वरिष्ठ उपाध्यक्ष प्रतिमा श्रेष्ठले जानकारी दिनुभयो ।

कुखुराको मासु र अण्डामा हुने पौष्टिक तत्वले क्वारेन्टिनमा रहने व्यक्ति र आइसोलेसनमा उपचाररत कोरोना सङ्क्रमितको रोगसँग लड्ने प्रतिरक्षा शक्ति बलियो हुने भएकोले सहयोग गरिएको संघका अध्यक्ष राजु अधिकारीको भनाइ छ । आज थाहा नगरमै पुगेर थाहा नगरका उपमेयर खड्ग गोपालीलाई सहयोग सामग्री हस्तान्तरण गरेको छ । थाहा नगरका उपमेयर खड्ग गोपालीले क्वारेन्टिनमा अहिले दुईजना मात्रै रहेको र आइसोलेसन वार्ड तयारी अवस्थामा रहेको जानकारी दिनुभएको छ । थाहा नगरपालिकाले थाहा–४ स्थित पानोरमा रिसोर्टमा १० बेडको र थाहा–६ स्थित अध्याय रिसोर्टमा ५ बेडको आइसोलेसन तयारी अवस्थामा राखेको उपमेयर गोपालीले जानकारी दिनुभयो ।

संघका अध्यक्ष राजु अधिकारी, वरिष्ठ उपध्यक्ष प्रतिमा श्रेष्ठ, उपाध्यक्ष गोकुल पौडेल, महासचिव श्यामसुन्दर परियारको टोली थाहा नगर पुगेका हुन् । यसअघि मकवानपुर कुखुरा व्यवसायी संघले हेटौंडास्थित आइसोलेसन वार्ड र मनहरी गाउँपालिकाले सञ्चालन गरेको आइसोलेसन वार्डका लागि पनि सहयोग गरेको थियो ।