हेटौँडा : प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को मतदान सम्पन्न भएर मतगणना चलिरहेको छ । देशका विभिन्न निर्वाचन क्षेत्रको मतगणना सम्पन्न भएर नतिजा सार्वजनिक हुने क्रमसमेत जारी रहेको छ । पछिल्ला नतिजामा नयाँ विकल्पको रुपमा आफूलाई जनतामाझ प्रस्तुत गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उम्मेदवारहरुले अधिकांश निर्वाचन क्षेत्रहरुमा अग्रता लिएको देखिन्छ । मतगणना सम्पन्न भएका धेरै स्थानमा रास्वपाका उम्मेदवारहरु विजयीसमेत भइसकेका छन् ।

यसअघि आफूलाई अब्बल र बलियो जनमत भएको भनिएका स्थापित दलहरुलाई पानीसमेत भन्न नपाउने स्थिति बनेको छ । मतगणनामा देशव्यापी अग्रता कायम गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टीको बहुमत निश्चितजस्तै देखिन्छ । यसरी नेपालको शक्ति सञ्चयको अवस्था पूरै उल्टिनुको कारणमा विभिन्न व्यक्तित्वहरुले जनताको परिवर्तनको तिव्र चाहना भएको बताएका छन् ।

हेटौँडा–६ स्थित वंशगोपालम माविका पूर्वप्रधानाध्यापक रमेशप्रसाद लामिछानेले जेनजी आन्दोलनको कारण विशेष परिवेशमा निर्वाचन भएकोले फरक नतिजा अनुमान गरिएको बताउनुहुन्छ । नेपालको इतिहासमा सबैभन्दा बढी र गम्भीर क्षति ब्यहोरेको आन्दोलन भएको विश्लेषण गर्दै लामिछानेले जनताले राम्रा व्यक्तिलाई छान्ने भन्दा पनि पुराना स्थापित राष्ट्रिय दलहरु खराब भएका कारण तत्काललाई विकल्प खोजेको उहाँको भनाइ छ । जनताको रोजाईमा परेको दलको कार्यशैलीहरु हेर्न बाँकी रहेको र सकारात्मक हुनेमा उहाँको अपेक्षा छ ।

सुशासन र भ्रष्टाचार न्यूनीकरण नयाँ दलको मुख्य एजेण्डा भएका कारण यसैलाई मुख्य नीति तथा योजना बनाएर कार्यान्वयन गर्न सकेमात्र राष्ट्रिय स्वतन्त्र पार्टीको जनमत टिक्ने उहाँको भनाइ छ । जितको उन्मादमा आउने, भ्रष्टाचार न्यूनीकरण गर्न अग्रसर नहुने, जनताको अपेक्षाअनुसार शिक्षा, स्वास्थ्य, बेरोजगारी समस्या समाधान नभए नयाँ शक्तिकेन्द्रको पनि पुरानैको हविगत हुनसक्ने उहाँको आँकलन छ ।

अबको नेपाल ५० कटेका प्रौढको विचारले मात्र नबन्ने भन्दै ३० देखि ४० वर्ष उमेरका युवाहरुको नयाँ विचार र कार्यक्रमले नेपालमा परिवर्तन सम्भव भएको लामिछानेको विचार छ । हालको नेपालको शिक्षा प्रणाली त्रुटीपूर्ण भएकोले शिक्षा प्रणाली नै फेर्न निर्वाचित सरकारलाई यहाँले सुझाव दिनुभएको छ ।

शिक्षालाई नयाँ प्रणालीमा परिणत गर्न सके पढ्नकै लागि विदेश जाने विद्यार्थीको संख्या घटाउन सकिने उहाँ बताउनुहुन्छ । हाल विदेशिएका विद्यार्थी भिसाको अर्बौ रकम जोगिने भन्दै हाल बन्द उद्योग खुलाउन पहल गर्ने, बाँझो जग्गामा कृषि उत्पादनलाई प्राथमिकता दिने काम गरे नेपाल विकासको बाटोमा जाने उहाँको बुझाइ छ । यस्तै, पुराना पराजित दलहरुले पनि किन पराजय भोग्नुप¥यो भन्ने विषयमा समीक्षा गरेर आफूलाई परिवर्तन गर्नुपर्ने उहाँको सुझाव छ ।

मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद सिंह रानाभाट जनतामा दलीय व्यवस्थाप्रति वितृष्णा बढ्दै गएपछि पुराना दलप्रतिको अविश्वासको प्रस्तावको रुपमा यो निर्वाचन परिणामलाई तुलना गर्नुहुन्छ । अब निर्वाचित सरकारले उत्पादनमा आधारित नयाँ उद्योग खोल्ने, कृषकहरुलाई मल तथा उपकरणको सुलभ र सहज उपलब्धता तथा भौगोलिकरुपमा फरक–फरक उत्पादनलाई जोड दिई उत्पादनका कार्यक्रम सञ्चालन गर्नुपर्ने उहाँको भनाइ छ ।
यसअघि उद्योगको लागि आवश्यक कच्चापदार्थमा महँगो भन्सारका कारण उद्यमीहरु मारमा परेकोले यसलाई नवनिर्वाचित सरकारले समाधानतर्फ उन्मुख गराउनुपर्ने अपेक्षा रानाभाटले व्यक्त गर्नुभएको छ । यस्तै, राज्य सञ्चालनका सबै अंगहरुलाई पारदर्शी स्वरुपमा ढाल्नुपर्नेमा उहाँले जोड दिनुभएको छ ।

वरिष्ठ अधिवक्ता केशवप्रसाद काफ्लेले पनि यस निर्वाचन परिणामले पुराना दलका क्रियाशील सदस्यहरुका परिवारले पनि उनीहरुलाई मतदान गर्न नचाहेको देखिएको बताउनुभयो । यी पुराना दलका सदस्यहरु नै चुनावी कार्यक्रममा सहभागी हुँदाहुदै पनि मत भने राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिएको जस्तो देखिएको उहाँको विश्लेषण छ ।

पुराना सरकारका धाँधली, घोटालालगायतका करतुतबाट आजित जनताले परिवर्तन चाहेको उहाँको बुझाइ छ । पुराना कम्युनिष्ट तथा कांग्रेसजस्ता दलहरुले भावी सन्तानका लागि सोचेजति विकास गर्न नसकेको कारण नयाँ दलमा सम्भावना खोजेको देखिएको उहाँले बताउनुभयो । जित पछि पनि नयाँ दलका लागि युवाहरुको बेरोजगारी समस्या समाधान, आर्थिक विकासका लागि विशेष कार्यक्रमको कार्यान्वयन, स्थायी सरकार र विदेशिएकालाई स्वदेश फर्काइ उचित रोजगारको व्यवस्था गर्नका लागि औद्योगिक विकास गर्नुपर्ने भएकोले उनीहरुलाई चुनौतीको चाङ देखिएको काफ्लेको भनाइ छ । जनमतले राज्यको शासनमा पारदर्शिता, कार्यक्रम डेलिभरी खोजेको देखिएको र स्थिर शासन हुन्छ भन्ने अपेक्षा राखेको पनि उहाँले बताउनुभयो ।

राष्ट्रिय कृषक समूह महासंघका केन्द्रीय महासचिव महानन्द सापकोटाले अब बन्ने सरकारले स्पष्ट भिजन, योजना र त्यसको प्रभावकारी कार्यान्वयनका लागि नीति निर्माणमा जोड दिनुपर्ने बताउनुभएको छ । यसअघिका सरकारले निर्वाचन घोषणापत्रमा गरेको प्रतिबद्धता पूरा नगरेका, बेरोजगारी समस्या समाधानका लागि कुनै ठोस कदम नचालेकोजस्ता कुराले युवाहरुमा वितृष्णाका कारण पनि जनताले मत परिवर्तन गरेकाले निर्वाचित सरकारले यस विषयमा ध्यान दिनुपर्ने उहाँको सुझाव छ ।

उहाँले २०७४ देखि २०७९ सम्म सरकारहरुले गरेका काम रामै्र देखिएको भएता पनि पछिल्लो समय भने जनता सरकारका गलत अभ्यासहरुबाट आजित भएको उहाँको बुझाइ छ । उहाँले कृषि क्षेत्र देशको आर्थिक विकासको प्रमुख खम्बा भएकोले कुनै विशेष क्षेत्रलाई विशेष कार्यक्रमभित्र राखी कार्यान्वयन गर्न उहाँको सुझाव छ । कृषिलाई आधुनिकीकरण तथा उत्पादित वस्तुलाई सहजरुपमा उपभोक्तासम्म पु¥याउन बजारीकरणका कार्यक्रम सञ्चालन गर्न पनि उहाँको सुझाव छ । अबको सरकारले सरोकारवालासँग समन्वय गरी स्पष्ट भिजन तथा नीति तय गरेर कृषिलाई प्राथमिकता दिनुपर्नेमा सापकोटाले जोड दिनुभएको छ ।