हेटौँडा : पुरुष एक दिवसीय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता–२०८२ का लागि बागमती प्रदेशस्तरीय छनोट प्रतियोगिता सोमबारदेखि हुने भएको छ । बागमती प्रदेश क्रिकेट संघले शुक्रबार छनोट प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको छ ।
प्रतियोगितामा नेपाल क्रिकेट संघ (क्यान) बाट आधिकारिकता पाएका बागमती प्रदेशका ६ वटा जिल्लाहरू (मकवानपुर, चितवन, नुवाकोट, ललितपुर, भक्तपुर र काठमाडौं) र एउटा त्रिभुवन विश्वविद्यालयको टिम गरी ७ वटा टिमले प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको उद्घाटन खेलमा सोमबार भक्तपुर र ललितपुरको टोली भिड्ने छ । मकवानपुर जिल्लाको टोलीले प्रतियोगिताको आफ्नो पहिलो खेलमा मंगलबार भक्तपुर जिल्लाको टोलीको सामना गर्नेछ ।
यसैगरी मकवानपुरको टोलीले प्रतियोगितामा बुधबार काठमाडौंसँग, बिहिबार नुवाकोटसँग, शुक्रबार त्रिभुवन विश्वविद्यालयको टिमसँग, चैत १ गते चितवनसँग र चैत २ गते ललितपुरसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगितामा प्रत्येक टोलीले ६/६ वटा खेल खेल्नेछन् । समूह चरणको खेल सकिएपछि अंक तालिकाका शीर्ष दुई टोलीबीच फाइनल खेल हुनेछ । फाइनल खेल चैत ३ गते हुनेछ ।
प्रतियोगिताको सबै खेल काठमाडौंको तल्लो मुलपानी क्रिकेट रंगशालामा बिहान ९ बजेदेखि सुरु हुनेछ । बागमती प्रदेश क्रिकेट संघका सदस्य संजोग पोखरेलका अनुसार प्रतियोगितामा प्रदर्शनको आधारमा १९ जना खेलाडी छनोट गरी क्याम्प सञ्चालन गरिनेछ । जसमध्ये १५ जना प्रदेश टोलीमा समावेश हुनेछन् भने ४ जना वैकल्पिक खेलाडीका रुपमा रहनेछन् । २०८१ सालको प्रदेशस्तरीय छनोट प्रतियोगितामा मकवानपुर उपविजेता बनेको थियो । फाइनल खेलमा ललितपुरसँग पराजित भए पनि मकवानपुरका ५ जना खेलाडी प्रदेश टोलीमा पर्न सफल भएका थिए ।









