हेटौँडामा चुनावी सभालाई सम्बोधन गर्दै हर्क सम्पाङ ।

हेटौँडा : श्रम शक्ति पार्टीका अध्यक्ष हर्क साम्पाङले देशको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । उनले अहिले देशको सुरक्षालाई विकासभन्दा माथि राख्नुपर्ने अवस्था आएको बताए । सोमबार हेटौँडामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले मतदातालाई इमानदार र देशभक्त उम्मेदवार चयन गर्न आग्रह गरे ।

सभामा बोल्दै उनले नागरिकले तरकारी किन्दा समेत राम्रो–नराम्रो छानेजस्तै नेतृत्व चयन गर्दा पनि सावधानी अपनाउनुपर्ने बताए । ‘हामीलाई राम्रो सामान चाहिन्छ, गोलभेडा किन्दा पनि दाग छ कि छैन भनेर हेर्छौँ । त्यसरी नै नेतृत्व छान्नुस्,’ उनले भने । उनले जीवन स्वभावतः जोखिमपूर्ण रहेको उल्लेख गर्दै सरकारको मुख्य दायित्व नागरिकलाई सुरक्षा दिनु भएको बताए । ‘सरकार भनेको अभिभावक हो । आमाबुवाले बच्चालाई जोगाएजस्तै राज्यले नागरिकलाई जोगाउनुपर्छ’, उनले भने, ‘लोकतन्त्रमा सरकार तपाईंको भोटले बन्छ, त्यसैले सोचेर मतदान गर्नुहोस् ।’

साम्पाङले अमेरिकी सहयोग परियोजना एमसीसी र प्रस्तावित एसपीपीजस्ता सैन्य प्रकृतिका सम्झौताप्रति पुनः आपत्ति जनाए । उनले यस्ता सम्झौताले नेपाललाई अन्तर्राष्ट्रिय द्वन्द्वमा तान्ने जोखिम रहेको दावी गर्दै नेपाललाई मध्यपूर्वका देश र युक्रेन हुने जोखिमबाट बचाउन आग्रह गरे । ‘हामी हाम्रो देशलाई अर्को युक्रेन र मध्यपूर्वका देश जस्तो बनाउने जोखिम लिन चाहँदैनौँ,’ उनले भने । पछिल्लो समय खाडी मुलुकहरूमा भइरहेका द्वन्द्व र विदेशी सैन्य अखडाको उदाहरण दिँदै उनले नेपालले स्वतन्त्र र सन्तुलित परराष्ट्र नीति अपनाउनुपर्ने जोड दिए । उनले त्यसको सम्भावना श्रम शक्तिबाट मात्रै सम्भव भएको दावी पनि गरे ।

अध्यक्ष साम्पाङले नेपाललाई ‘भरियाको देश’ नभई आविष्कारकहरूको देश बनाउनुपर्ने धारणा राखे । उनले युवापुस्तालाई सिर्जनात्मक सोच विकास गर्न आग्रह गर्दै कपी–पेस्ट संस्कृतिबाट बाहिर निस्कन आग्रह गरे । ‘अरूले आइफोन बनायो भनेर गफ गर्ने होइन, हामीले आफैले उत्पादन गर्नसक्ने हुनुपर्छ,’ उनले भने । उनका अनुसार पार्टीको चुनाव चिह्न ‘माटो’ उत्पादन र आत्मनिर्भर अर्थतन्त्रको प्रतीक हो ।

उनले पार्टीले भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति अपनाउने दाबी पनि गरे । यदि हाम्रा उम्मेदवारले भ्रष्टाचार गरे भने म आफैँ आएर मोसो दलिदिन्छु,’ उनले चेतावनी दिए । आफूले पनि भ्रष्टाचार गरे ३ करोड नेपालीले जहाँ भेटे पनि कारबाही गर्न सक्ने उनले सार्वजनिक प्रतिबद्धता व्यक्त गरे ।

सभामा उनले महिला उम्मेदवारहरूलाई समर्थन गर्न अपिल गरे । विशेषगरी विद्या श्रेष्ठ र मन्दिरा मुक्तानजस्ता उम्मेदवारहरूलाई जिताउन आग्रह गर्दै उनले महिलालाई घरभित्र सीमित नराखी नेतृत्वमा पु¥याउनुपर्नेमा जोड दिए । उनले शिक्षा र कृषिमा ‘क्रान्तिकारी परिवर्तन’ ल्याउने प्रतिवद्धता जनाउँदै कृषि उत्पादन बिना औद्योगिक विकास सम्भव नहुने बताए । ‘देश समृद्ध भए मात्र नागरिकको गोजीमा पैसा पुग्छ’, उनले भने ।