हेटौँडा : लागूऔषधसहित मकवानपुर प्रहरीले मकवानपुर जिल्लाको थाहा नगरबाट एक जनालाई पक्राउ गरेको छ । शनिबार दिउँसो साढे १२ बजेको समयमा थाहा नगरपालिका–२, अंगारेमा लागूऔषधको प्रयोग तथा बिक्री–वितरण भइरहेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरी टोलीले भाङ्गखोरियाबाट पालुङ्तर्फ आउँदै गरेको बा ३१ प ३३४३ नम्बरको मोटरसाईकललाई रोकेर सुरक्षा जाँच गर्दा मोटरसाइकल चालक थाहा नगर–२ का सागर देउलालाई लागूऔषधसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले सागरलाई लागूऔषधसम्बन्धी कसूरमा आइतबार मकवानपुर जिल्ला अदालतबाट म्याद थप गरी हिरासतमै राखेर थप अनुसन्धान गरिरहेको जनाएको छ । प्रहरीले सागरको साथबाट प्रतिबन्धित लागूऔषध नाइट्राजेपाम १२ चक्की, स्पासपेन ३० चक्की, स्टागन १० चक्की, ट्रामाडोल २० चक्की, नगद ३३ हजार १९० रुपैयाँ, बरामद गरेको छ ।











