मतदान केन्द्रमा खटिने कर्मचारी निर्वाचन सामग्री लिएर जाँदै ।

हेटौँडा : आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मकवानपुरको दुवै क्षेत्रको तयारी अन्तिम चरणमा पुगेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौँडाले निर्वाचनका लागि आवश्यक सामग्रीसहित आज सोमबार नै मतदान अधिकृतहरुलाई मतदान केन्द्रमा पुग्न भनेको छ । आइतबार निर्वाचन सामग्री वितरणको कार्य सम्पन्न गरिसकेको छ ।

प्रदेश निर्वाचन कार्यालय बागमती प्रदेशका प्रमुख एवम् मकवानपुरका सहायक निर्वाचन अधिकृत हरि ढकालले फागुन २१ गते हुने निर्वाचनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । सहायक निर्वाचन अधिकृत ढकालले निर्वाचनलाई शान्तिपूर्ण ढंगले सम्पन्न गर्न कार्यालय प्रतिबद्ध रहेको बताउनुभयो । सहायक निर्वाचन अधिकृत ढकालका अनुसार फागुन १७ गतेदेखि मतदान केन्द्रमा खटिने कर्मचारीहरुलाई आवश्यक निर्वाचन सामग्रीसहित बिदाइ गर्ने कार्य सुरु गरिएको छ ।

‘हामी तयारीको अन्तिम विन्दुमा छौँ । कर्मचारी साथीहरु मतदान सामग्री लिएर केन्द्रतर्फ लाग्ने क्रममा हुनुहुन्छ ।’ उहाँले भन्नुभयो, ‘आगामी २१ गते मतदातालाई उत्साहपूर्वक सहभागी हुन सकिने छ । निर्वाचन आयोगले फागुन १८ गते राती १२ बजेदेखि मौन अवधि सुरु हुने र सो अवधिमा उम्मेदवार र राजनीतिक दलहरुलाई निर्वाचन आचारसंहिता पूर्णपालना गर्नुपर्नेछ । जिल्लास्थित सुरक्षा निकायहरूले सुरक्षाको पूर्ण प्रबन्ध मिलाइएको छ । मतदाताहरु निर्धक्क भएर मतदान केन्द्रमा गएर भोट हाली सुरक्षित रुपमा घर फर्कन सक्ने वातावरण रहेको छ ।’

निर्वाचनको दिन सार्वजनिक सवारी साधन बन्द रहने भए तापनि हिँडडुल गर्न नसक्ने वृद्धवृद्धा, अपाङ्गता भएका व्यक्ति र अशक्त मतदाताहरूका लागि विशेष व्यवस्था गरिने उनले बताए । विगतको अभ्यासलाई पछ्याउँदै मतदान अधिकृतको अनुमति लिएर उनीहरुलाई मतदान केन्द्रसम्म ल्याउने र मतदान गराउने व्यवस्था मिलाइने उहाँको भनाई छ ।

निर्वाचनका लागि मकवानपुर जिल्लाभर १०२ वटा वडामा १६७ वटा मतदान स्थल र ३७४ वटा मतदान केन्द्र तोकिएका छन् । जिल्लामा कुल ३ लाख १५ हजार ३३४ मतदाता रहेका उनले बताए । मकवानपुरमा २ वटा अस्थायी मतदानस्थल राखिएको छ । भीमफेदी कारागार र जिल्ला प्रशासन कार्यालय मकवानपुरमा एक/एक वटा मतदानस्थल रहने ढकालले बताउनुभयो ।

भीमफेदी कारागारमा महिला र पुरुष गरेर ९ सय ९५ जना कैदीबन्दी छन् । तर मतदाता नामावलीमा ७५ जनाको मात्र नाम रहेको छ । जसमा ३ जना महिला र ७२ जना पुरुष मतदाता रहेका छन् । अरु कैदीबन्दीहरुको मतदाता सूचीमा नाम नरहेको उहाँको भनाई छ । अस्थायी मतदानस्थलका मतदाताहरुले समानुपातिकतर्फ मात्र मतदान गर्न उनउने व्यवस्था रहेको छ ।

मकवानपुर १ नम्बर निर्वाचन क्षेत्रमा ६२ वटा मतदानस्थलमा १७८ वटा मतदान केन्द्र रहेका छन् । मतदाता १ लाख ५८ हजार ४३४ रहेको छ । यसैगरी मकवानपुर २ नम्बर निर्वाचन क्षेत्रमा १०५ मतदानस्थलमा १९६ वटा मतदान केन्द्र रहेका छन् । मतदाता १ लाख ५६ हजार ८९९ रहेका छन । २ वटा निर्वाचन क्षेत्र रहेको मकवानपुरमा ३ लाख १५ हजार ३३४ मतदाता छन् ।