आज फागुपूर्णिमा, नेपालको पहाडी क्षेत्रमा फागु पर्व मनाइँदैछ । फाल्गुन शुक्ल पूर्णिमा अर्थात् फागुपूर्णिमाको दिन काठमाडौं उपत्याकासहित पहाडी क्षेत्रमा फागु अर्थात् होली खेलिन्छ । तराई क्षेत्रमा भने चैत्र कृष्ण प्रतिपदाका दिन होली मनाइन्छ । देशभर हर्षोल्लासका साथ फागु वा होली मनाउने तयारी भइरहँदा विभिन्न जिल्लाका स्थानीय प्रशासनले संयमित र सौहार्दरुपमा होली खेल्न आग्रह गरेको छ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसार तथा मौन अवधिमा होली परेकाले शान्ति सुरक्षा तथा चुनावी वातावरण बिग्रन नदिन स्थानीय प्रशासनले आग्रह गरेका हुन् । जिल्ला प्रशासन कार्यालय मकवानपुले केही दिनअघि सूचना जारी गर्दै निर्वाचन आचारसंहिता तथा सुरक्षा संवेदनशीलतालाई ध्यान दिएर आपसी सद्भाव, शान्ति कायम गर्दै सौहार्दपूर्ण वातावरणमा होली खेल्न आग्रह गरेको छ । फागुपूर्णिमाको दिन निर्वाचन प्रचारप्रसारको अन्तिम दिन र तराईमा होलीको दिनदेखि मौन अवधि सुरु हुने भएकाले होलीको दिन भिडभाड हुने कुनै पनि कार्यक्रम नगर्न र नगराउन प्रशासनले आग्रह गरेको छ ।
होली/फागु पर्वलाई धार्मिक एवम् सांस्कृतिक दृष्टिले मर्यादित, सभ्य र अनुशासित ढंगले मनाउनुका साथै निर्वाचनको सुरक्षा र निर्वाचन आचारसंहिता पालना गर्न प्रशासनले आह्वान गरेको छ । होलीको समयमा हुन सक्ने अवाञ्छित गतिविधिका कारण निर्वाचन सुरक्षामा पर्न सक्ने प्रभावलाई मध्यनजर गर्दै जिल्ला सुरक्षा समितिले राजनीतिक दल, उम्मेदवार, दलका प्रतिनिधि, धार्मिक संघसंस्था, आमनागरिक तथा सरोकारवाला सबैलाई सौहार्द बनाउन आग्रह गरेको हो । समूह–समूह बनाएर होली खेल्ने क्रममा विवाद तथा झैझगडा हुने गर्दछ । होलीमा नशालु पदार्थ तथा मादक पदार्थको सेवन गरेर होहल्ला गर्ने गरेको पनि पाइन्छ । ठूलो संख्यामा जमघट गरी चर्को स्वरमा गीतसंगीत बजाएर वा सांगीतिक कार्यक्रम गरेर नाच्दै रमाइलो पनि होलीकै बेलामा बढी हुने गर्दछ । मट्का फुटाउने प्रतिस्पर्धा पनि होलीमा आयोजना हुन्छ । होलीमा हुने विभिन्न सामूहिक क्रियाकलाप र गतिविधिले निर्वाचनको मौन अवधि उल्लंघन हुने भएकाले प्रशासनले सतर्क गराउँदै संयम हुन आग्रह गरेको हो ।
असत्यमाथि सत्यको विजयको स्मरणमा विभिन्न रंगहरु खेलेर मनाइने होलीलाई रंगीन पर्व पनि भनिन्छ । यसपटक निर्वाचनको संघारमा होली पर्व परेकाले केही फिक्का बन्ने भएको छ । निर्वाचन आचारसंहिता उल्लंघनका कारण कारबाहीमा पो परिन्छ कि भन्ने त्राससँगै होली मनाउनुपर्ने भएको छ । धार्मिक, सांस्कृतिक, सामाजिक सबै प्रकारका महत्व र विशेषता बोकेको होली नेपाल तथा भारतको एउटा मुख्य पर्व हो । नेपालको पहाडमा भन्दा तराईमा होलीको रौनक अझ बढी हुने गरेको छ । जाडोयाम सकिने र गर्मी याम सुरु हुने समयमा पर्ने यो पर्वको महत्वलाई कायम राख्न शिष्ट र मर्यादितरुपमा होली मनाउने चुनौती विगतदेखि नै खट्किएको छ । पछिल्ला वर्षहरुमा होली मनाउने परम्परामा देखिएका कतिपय विकृति रोक्न पनि होलीलाई सौहार्दरुपमा मनाउनु आवश्यक भइसकेको छ ।
होली खेल्ने र पर्व मनाउने नाममा कसैको इच्छाविपरीत जबरजस्ती, अमर्यादित तथा उच्छृङ्खल व्यवहार नगर्न प्रशासनले गरेको आग्रहलाई सबैले मनन गर्नुपर्छ । मादक पदार्थ तथा नशालु पदार्थ सेवन नगर्न, यस्ता पदार्थ सेवन गरी सवारी साधन नचलाउन, सार्वजनिक स्थलमा होहल्ला नगर्न तथा चर्को आवाजमा बाजा (डिजे) नबजाउन भन्दै प्रशासनले अरुलाई असर पर्ने खालका कुनै पनि कार्य नगर्नसमेत आग्रह गरेको छ । धार्मिक सहिष्णुता, आपसी सद्भाव कायम राखी होली तथा रंगहरुको पर्व मनाउने र कसैको इच्छा तथा मर्यादा विपरीत रङ दल्ने, होला हान्ने, फोहर पदार्थले छ्याप्ने, दुःख हैरानी तथा कष्ट दिने कुनै पनि कानुन विपरीतका कार्य नगर्न र नगराउन गरिएको आग्रहलाई स्वीकार गर्दै यस वर्ष सौहार्दरुपमा होली मनाऔं । फागुपर्वको अवसरमा सबैलाई शुभकामना । ह्याप्पी होली ।











