हेटौँडा : जिल्लास्तरीय गणित हाजिरीजवाफ प्रतियोगितामा हेटौँडा–२ स्थित बालजागृति इङ्ग्लिस बोर्डिङ स्कूल प्रथम भएको छ । शुक्रबार गणित शिक्षा परिषद् जिल्ला कार्यसमिति मकवानपुरको आयोजनामा सम्पन्न प्रतियोगितामा बालजागृतिका सहर्स गौतम र आदित्य चौलागाईंको समूहले प्रथम स्थान हासिल गरेको हो ।
प्रतियोगितामा हेटौँडा–५ स्थित ज्ञानदीप शिक्षा (जीएस) निकेतन माध्यमिक विद्यालयको समूह द्वितीय र तृतीय भएको हो । जीएस माविको आलिया थपलिया र एलेस घिमिरेको समूह द्वितीय भएको छ भने निवित पुडासैनी र सम्पन अधिकारीको समूह तृतीय भएको छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने समूहले क्रमशः ४ हजार, ३ हजार र २ हजार रुपैयाँसहित ट्रफी, प्रमाणपत्र र स्टेशनरी सामग्री पुरस्कार प्राप्त गरेका छन् ।
प्रतियोगितामा विभिन्न संस्थागत र सामुदायिक गरी २१ वटा विद्यालयका ३० वटा टिमको सहभागिता रहेको थियो । प्रत्येक समूहमा कक्षा ९ र १० मा अध्ययनरत २ जना विद्यार्थीहरूको सहभागिता थियो । प्रतियोगिता दुई राउण्डमा सम्पन्न भएको थियो । सहभागी टिमहरुमध्ये पहिलो राउण्डमा उत्कृष्ट ८ वटा टिम छनोट गरी गरी दोस्रो राउण्ड खेलाइएको थियो । परिषदका सदस्य तथा अतिरिक्त क्रियाकलाप विभागका संयोजक विमल दाहालको संयोजकत्वमा प्रतियोगिता सम्पन्न भएको हो ।
गणित शिक्षा परिषद् मकवानपुरका अध्यक्ष विनोद सुवेदीको सभाध्यक्षतामा भएको कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका प्रमुख सुदिप गिरीको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा परिषदका बागमती प्रदेश सदस्य संगीता पुडासैनी र बालजागृति माविका प्रबन्ध निर्देशक मोहनप्रसाद शर्माको विशिष्ट आतिथ्य रहेको थियो । प्रतियोगिताले आगामी चैत १९ गतेबाट सुरु हुन गइरहेको एसईई परीक्षा दिने विद्यार्थीलाई सहयोग पुग्ने अध्यक्ष सुवेदीले बताउनुभयो ।
