हेटौँडाः नेपाल सितोरियो कराँते संघ मकवानपुरले आफ्ना दुई भोलेन्टियर प्रशिक्षकहरूलाई बिदाइ गरेको छ । विगत लामो समयदेखि खेलाडी र प्रशिक्षकको दोहोरो जिम्मेवारी निभाउँदै आएका सविन भोलोन र बुद्ध लामालाई बुधबार बिदाइ गरिएको हो ।
विशेष कामको सिलसिलामा जिल्ला बाहिर जान लागेका उनीहरूलाई हेटौँडा–४ स्थित संघको कार्यालयमा बुधबार बिदाइ गरिएको हो । बिदाइ कार्यक्रममा नेपाल सितोरियो कराँते संघ मकवानपुरका अध्यक्ष दीपक लामा, सल्लाहकार विशालराज महत र नगर अध्यक्ष दामोदर दहालको उपस्थिति रहेको थियो । जिल्ला अध्यक्ष लामाले जिल्लादेखि राष्ट्रियस्तरका खेलाडी उत्पादनमा प्रशिक्षक भोलोन र लामाले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।
प्रशिक्षक भोलोनले संघलाई आवश्यक परेको खण्डमा आफूहरु सधैँ सहयोग गर्न तयार रहेको बताउनुभयो । प्रशिक्षकद्वय बाहिरिएसँगै अब डोजोको प्रशिक्षण कार्यलाई वरिष्ठ प्रशिक्षकद्वय तुकेन्द्रमान श्रेष्ठ र मुकुन्दमान श्रेष्ठले निरन्तरता दिने संघले जनाएको छ ।











