हेटौँडाः हेटौँडा–४ स्थित हेटौँडा स्कूल अफ म्यानेजमेन्ट एण्ड सोसल साइन्सेसमा ह्याकाथन ‘एनिग्मा’ प्रतियोगिता सम्पन्न भएको छ । एआईमार्फत शिक्षामा रूपान्तरण भन्ने मुल नाराका साथ नवोदय इनोभेसन सेन्टरको प्रायोजनमा सोमबारदेखि सुरु भएको प्रतियोगिता बुधबार सम्पन्न भएको हो ।

प्रतियोगितामा समूह जी–वन प्रथम, द बी डायरी फाइल्स समूह द्वितीय र एभेन्जर्स एसेम्बल समूहले तृतीय स्थान हासिल गरेको छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय भएका समूहहरुले क्रमशः २५ हजार, १५ हजार र १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।

कलेजको सूचना प्रविधि विभाग र विद्यार्थी विकास केन्द्रले प्रतियोगिताको आयोजना गरेको थियो । कलेजमा स्नातक तह तेस्रो र चौथो वर्षमा अध्ययनरत सूचना प्रविधि संकाय (बीआईएम र बीसीए) का ८० जना विद्यार्थीहरुले प्रतियोगितामा भाग लिएका थिए । सहभागी विद्यार्थीहरूलाई १६ वटा समूहमा विभाजन गरिएको थियो । प्रतियोगितामा सहभागी विद्यार्थीहरुले मेन्टरसिप (परामर्श), अवधारणा विकास र प्रोटोटाइप निर्माण गरेर प्रस्तुतिकरण गरेका थिए ।

शिक्षा क्षेत्रलाई आधुनिक बनाउन आर्टिफिसियल इन्टेलिजेन्समा आधारित नवीन समाधानहरू विकास गर्नु प्रतियोगिताको मुख्य उद्देश्य थियो । यस्ता प्रतियोगिताहरुमार्फत नवीनतालाई प्रोत्साहन गर्न र विद्यार्थीलाई सशक्त बनाउ सधैँ प्रतिबद्ध रहेको कलेजले जनाएको छ ।