Home मुख्य समाचार किसान र युवाको एजेण्डा बोकेर चुनावमा आएका छु : विजय गौतम

किसान र युवाको एजेण्डा बोकेर चुनावमा आएका छु : विजय गौतम

हेटौँडा : नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट मकवानपुर क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार विजय गौतमले आफू किसानको एजेण्डा बोकेर उनीहरुकै पक्षमा लड्न चुनावी मैदानमा आएको बताउनुभएको छ । सोमबार नेकपा मकवानपुरद्वारा आयोजित पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उम्मेदवार गौतमले विकास र परिवर्तनका सबै कुरा एकैपटक जादुको छडी घुमाएजस्तो गर्न नसकिने भए पनि प्राथमिकताको आधारमा गर्न सकिने बताउनुभयो ।

उहाँले युवाको एजेण्डालाई आफ्नो मुख्य प्राथमिकतामा राखेको बताउँदै हिजोभन्दा आज केही सुधार भएपनि त्यो पर्याप्त नभएको उल्लेख गर्नुभयो । कार्यक्रममा गौतमले स्थानीय समस्याका बारेमा बोल्दै कर्रा खोला अहिले निसासिएको अवस्थामा पुगे पनि यसको संरक्षण र सम्वद्र्धनका लागि संघीय सरकारको आँखा पुग्न नसकेको बताउनुभयो ।

हेटौँडा बजारको मुख्य सडक विस्तारको विवादका सन्दर्भमा धारणा राख्दै उहाँले आफ्नो पार्टीले जनतालाई क्षतिपूर्ति र मुआब्जा नदिने कुरा नगरेको स्पष्ट पार्नुभयो । जनताको सम्पत्ति माथिको अधिकारलाई राज्यले कुण्ठित गर्न नहुने र विकासका नाममा राज्यले दादागिरी गर्न नपाइने उहाँको भनाइ छ । आफू जितेर गएपछि यो समस्या समाधानका लागि पहल गर्ने र हेटौँडा बजारको सडकको स्तरोन्नति गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रशासनिक सुधारका विषयमा बोल्दै गौतमले जनताले ‘फेसलेस’ र ‘पेपरलेस’ सेवा पाएमा धेरै कुरामा सुधार आउने बताउनुभयो । उहाँले आफ्ना चुनावी एजेण्डाहरूका कारण २६ देखि २७ सय मतान्तरले आफू विजयी हुने दाबी गर्नुभयो । उहाँले आफ्नो चुनावी घोषणापत्रमा भौतिक पूर्वाधार विकास, सुशासन, कृषि, उद्योग र उद्यमशीलता, पर्यटन, शिक्षा तथा समावेशी विकासलगायतका विषयहरू समेटिएको जानकारी दिनुभयो ।

Exit mobile version