आधुनिक लोकसेवा आयोग प्रणालीको सुरुवात सन् १८५५ मा बेलायतबाट भएको हो । त्यसअघि सरकारी पदमा नियुक्ति राजनीतिक सिफारिस र पारिवारिक सम्बन्धका आधारमा हुने गथ्र्यो । पछि निष्पक्षता र योग्यता कायम गर्न खुला प्रतिस्पर्धात्मक परीक्षा प्रणाली लागू गरियो । बेलायती शासनकालमा भारतमा पब्लिस सर्भिस कमिशनको स्थापना १ अक्टोबर १९२६ मा भयो । यसको अध्यक्ष सर रॉस बार्कर थिए ।
भारत स्वतन्त्र भएपछि सन् १९५० मा संविधानद्वारा युनियन पब्लिस सर्भिस कमिशनको व्यवस्था गरियो । नेपालमा प्रजातन्त्र बहालीपछि २००८ असार १ गते लोकसेवा आयोग स्थापना गरियो । यसको उद्देश्य पनि बेलायत र भारतकै जस्तै सरकारी सेवामा योग्य र निष्पक्ष उम्मेदवार छनोट गर्नु नै थियो । अमेरिकामा सन् १८८३ मा पेन्डलेटन सिभिल सर्भिस एक्टले युएस सिभिल सर्भिस कमिशन गठन गर्यो । चीनमा प्राचीनकालमै इम्पेरिएल इक्जामिनेसन सिस्टम (सन् ६०७ देखि) लागू थियो जसलाई आधुनिक लोकसेवा प्रणालीको पूर्वरूप मानिन्छ ।
फ्रान्स, जापान र क्यानडा लगायत देशहरूले पनि क्रमशः १९औं र २०औं शताब्दीमा पब्लिस सर्भिस कमिशन स्थापना गरे । लोकसेवा आयोगको अवधारणा चीनको पुरानो परीक्षा प्रणालीबाट सुरु भई बेलायतमा आधुनिक रूप लियो । भारत हुँदै नेपाल र अन्य देशहरूमा यसको क्रमिक रुपमा विस्तार भई व्यापकरुपमा परिष्कृत भई आजको यो अवस्थामा फैलिएको जगजाहेर नै छ । २००७ सालमा प्रजातन्त्र स्थापनापछि निजामती कर्मचारीको नियुक्ति स्वतन्त्र निकायमार्फत गर्नुपर्ने आवश्यकता महसुस भई २००८ असार १ गते लोकसेवा आयोग स्थापना गरिएको हो । यसको मुख्य उद्देश्य निजामती सेवाका पदहरूमा योग्य उम्मेदवार छनोट गर्नु र नियुक्ति प्रक्रियामा निष्पक्षता र पारदर्शिता कायम गर्नु नै हो । नेपालको संविधान २०७२ को भाग २३ ले लोकसेवा आयोग सम्बन्धी व्यवस्था गरेको छ भने धारा २४२ अनुसार आयोगमा एकजना अध्यक्ष चारजना सदस्य गरी कुल जम्मा ५ जना रहन्छन् । यसको मुख्य काम, अधिकार र प्रमुख जिम्मेवारीहरू धारा २४३ अनुसार निजामती सेवाको पदमा नियुक्तिका लागि परीक्षा सञ्चालन गर्नु, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र अन्य संघीय सेवाको लिखित परीक्षा सञ्चालन गर्नु र बढुवा, विभागीय कारबाही, सेवाका शर्त, सरुवा आदि विषयमा सरकारलाई परामर्श दिनु पनि हो । लोकसेवा आयोग ऐन, २०७९ अनुसार छनोटका तरिका विभिन्न रहेका छन् । जस्तैः लिखित परीक्षा, प्रयोगात्मक परीक्षा, अन्तरवार्ता तथा अन्य आयोगले तोकेका विधिहरु नै प्रमुख हो ।
लोकसेवा आयोग नेपालको सबैभन्दा महत्वपूर्ण संवैधानिक निकाय मध्ये एक हो, जसले देशभरका सरकारी सेवामा योग्य र सक्षम जनशक्ति छनोट गर्ने जिम्मेवारी वहन गर्छ । यसको सम्पूर्ण कार्यप्रणाली पारदर्शिता, निष्पक्षता र गोपनीयतामा आधारित छ । लोकसेवा आयोगको सबैभन्दा ठूलो उपलब्धि भनेको यसको निष्पक्ष र पारदर्शी परीक्षा प्रणाली हो । राजनीतिक पहुँच, सिफारिस वा आर्थिक हैसियतभन्दा योग्यता र क्षमताको आधारमा रोजगारी पाउने अवसर आज सम्भव भएको छ । यसले विशेषगरी गरीब तथा शिक्षित बेरोजगार युवाहरूका लागि आशाको ढोका खोलेको छ । काठमाडौँदेखि कर्णालीसम्म, गाउँघरका मिहिनेती युवाले पनि समान अवसरका साथ प्रतिस्पर्धा गर्न सक्ने वातावरण सिर्जना भएको छ ।
शिक्षित युवाहरुमा आत्मविश्वासको विकास देखिएको छ । लोकसेवा आयोगले देशभरका युवामा मिहिनेत गर्यो भने सफल भइन्छ भन्ने मानसिकता जगाएको छ । कृषि, वन, प्रशासन, लेखा, शिक्षण, इन्जिनियरिङ आदि क्षेत्रमा दक्ष जनशक्ति छनोट गरेर देशभर सेवा गर्ने अवसर पाएका युवाहरूले देशभित्रै आफ्नो पहिचान बनाउन सकेका छन् । यसले वैदेशिक रोजगारमा निर्भरता घटाउने र युवाहरूलाई आफ्नै भूमिमा सम्भावना खोज्ने प्रेरणा दिएको छ । लोकसेवा आयोगका परीक्षा प्रणालीहरूले युवालाई गहिरो अध्ययन, अनुसन्धान र तयारी गर्न प्रेरित गर्छ । यसका कारण विश्वविद्यालय र कलेजहरूमा पनि प्रतियोगितात्मक अध्ययन संस्कृतिको विकास भएको छ । शिक्षा अब केवल प्रमाणपत्रका लागि नभई योग्यता प्रमाणित गर्ने साधन बनेको छ जसले देशमा शिक्षाको गुणस्तर वृद्धि गर्न सहयोग पु¥याएको छ ।
पहिले सरकारी जागिर ठूला–वडाको पहुँचमा मात्रै हुने धारणा थियो । तर आज लोकसेवा आयोगको खुला र पारदर्शी परीक्षा प्रणालीले हुम्ला, जाजरकोट, रोल्पा, भोजपुर, तेह्रथुम जस्ता दुर्गम जिल्लाका युवालाई पनि अवसर दिएको छ । केवल मिहिनेत र योग्यता भए पुग्छ । यही सन्देशले ग्रामीण युवामा आत्मविश्वास र देशप्रेम बढाएको छ । त्यसको फलस्वरूप अहिले गाउँका सामान्य किसानका छोरा–छोरी पनि प्रशासक, शाखा अधिकृत, शिक्षा अधिकृत, लेखा सहायक आदि बनेर देशभित्रै सेवा गरिरहेका छन् । लोकसेवा आयोगले हरेक वर्ष हजारौं पदमा परीक्षा सञ्चालन गर्छ । यसले देशमा स्थायी रोजगारीको अवसर सिर्जना गर्छ र युवाहरूको सीपलाई राष्ट्रिय प्रशासनिक प्रणालीमा समाहित गर्छ ।
शिक्षित बेरोजगार युवाले अब आफ्नो सीप विदेशमा होइन, आफ्नै देशको सेवा–विकासमा प्रयोग गर्न थालेका छन् । आयोगबाट छनोट भएका कर्मचारीहरू प्रशिक्षित, जिम्मेवार र निष्पक्ष हुने भएकाले नेपालको प्रशासनिक संरचना सवल भएको छ । नागरिक सेवामा उनीहरूको योगदानले जनसेवा सहज, पारदर्शी र जवाफदेही बनाएको छ । यसरी लोकसेवा आयोगले केवल रोजगार मात्र होइन, राष्ट्रको सुशासन र विकासको आधारशिला तयार गरेको छ । आयोगले समावेशी प्रणाली अपनाएको छ जसले महिला, दलित, जनजाति, मधेसी, पिछडिएका वर्ग र अपाङ्गता भएका व्यक्तिहरूका लागि विशेष आरक्षण व्यवस्था गरेको छ ।
यसले नेपालको प्रशासनलाई अधिक प्रतिनिधिमूलक र न्यायपूर्ण बनाएको छ । लोकसेवा आयोगको परीक्षा तयारी र सेवा प्रविष्टिको यात्राले युवामा देशप्रेम, सेवाभाव र उत्तरदायित्वबोध बढाएको छ । यसले रोजगारी भन्दा पनि देशसेवा गर्ने अवसर को रूपमा सरकारी सेवा लिन प्रेरणा दिएको छ । राजनीतिक उतार–चढाव, आर्थिक चुनौती, प्रशासनिक अस्थिरता, प्राकृतिक विपद् जस्ता जेसुकै कठिन समय आए पनि आयोगले आफ्नो धर्म, दायित्व र निष्पक्षताको मूल मूल्य कहिल्यै छाडेको छैन । कहिलेकाहीँ मानवीय त्रुटिका रूपमा एकाध कुराहरूमा कमि कमजोरी देखिए पनि आयोगको मूल प्रणाली पारदर्शी परीक्षा, योग्यता–आधारित छनौट, समान अवसर, गोपनीयता र निष्पक्षता सदैव अडिग रहँदै आएको छ । यही कारणले आज पनि लाखौं शिक्षित युवाहरू, चाहे उनीहरूको आर्थिक अवस्था जे भए पनि, कडा परिश्रम र आफ्नो क्षमताको आधारमा उज्यालो भविष्य बनाउने आशामा लोकसेवा मार्फत प्रतिस्पर्धा गर्छन् ।
कठिन परिस्थितिमा समेत आफ्नो जिम्मेवारी नटारेर राष्ट्रलाई दक्ष, उत्तरदायी र ईमानदार जनशक्ति उपलब्ध गराउँदै आएको यिनै गुणहरूले लोकसेवा आयोगलाई देशका युवाको विश्वास र आशाको आधारस्तम्भ बनाएको छ । लोकसेवा आयोग नेपालको केवल एक नियुक्ति निकाय होइन, यो देश निर्माणको मेरुदण्ड, युवाको आशा, निष्पक्षताको प्रतीक र राष्ट्र विकासको आधारशिला हो । आफ्नो दायित्वमा कहिल्यै विचलित नबनेर, योग्य जनशक्ति चयन गर्दै राष्ट्रलाई सक्षम, ईमान्दार र उत्तरदायी प्रशासन प्रदान गर्दै आएको यही संस्थाले आज नेपालका शिक्षित युवाको भविष्य मात्रै होइन, सम्पूर्ण राष्ट्रको प्रगति सम्भव बनाइरहेको छ ।
शिक्षित युवाको भविष्य सुरक्षित, सम्मानित र सम्भावनायुक्त बनाउन लोकसेवा आयोगले निर्विवाद रूपमा एक प्रमुख आधारको भूमिका निभाएको छ । योग्यता, मिहिनेत र क्षमता नै सफलताको वास्तविक आधार हो भन्ने विश्वास युवाहरूमा रोपिदिनु आयोगको सबैभन्दा ठूलो उपलब्धि हो । आर्थिक रूपमा कमजोर, दुर्गम भेगका परिश्रमी युवादेखि शहरका प्रतिस्पर्धी पुस्तासम्म सबैलाई समान अवसर प्रदान गर्ने पारदर्शी प्रणालीका कारण सरकारी सेवा अब पहुँच होइन, योग्यता–आधारित अवसर बनेको छ । कठिन परिस्थितिमा पनि निष्पक्षता र उत्तरदायित्वप्रति अडिग रहेको लोकसेवा आयोगले राष्ट्रका लागि दक्ष जनशक्ति तयार पार्दै युवा पुस्तामा आत्मविश्वास, देशप्रेम र सेवाभाव निर्माण गरेको छ । यसैले, शिक्षित युवाको उज्ज्वल भविष्य र समृद्ध नेपालको आधारस्तम्भ लोकसेवा आयोग नै हो भन्ने कुरा स्पष्ट हुन्छ । यसैगरी आयोगको साख जोगाउनु आजको दिनमा धेरै नै अपरिहार्य देखिन्छ ।
(मैनाली लोकसेवा आयोगको हेटौँडास्थित कार्यालयको नासु हुनुहुन्छ ।)










