हेटौँडा : चालु आर्थिक वर्षको ७ महिनामा मकवानपुरमा २७ वटा जबरजस्ती करणीका घटनामा भएका छन् । यस वर्षको साउनदेखि माघ महिनासम्ममा ३ वटा जबरजस्ती करणी उद्योगसहित २७ जनाबिरुद्ध जबरजस्ती करणीको उजुरी परेको थियो । अघिल्लो आर्थिक वर्ष ४१ जना महिलामाथि जबरजस्ती करणी भएको र त्यसअघिको वर्ष ५४ जना महिला जबरजस्ती करणीको शिकार भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मकवानपुर जिल्लामा चालु आर्थिक वर्षको ७ महिनामा १ सय ५५ जनाले घरेलु हिंसामा परेको भन्दै प्रहरीमा निवेदन दिएका छन् । निवेदन दिएका मध्ये १ सय १० वटा उजुरीमा मिलापत्र भएको पनि जिल्ला प्रहरीले जनाएको छ । अघिल्लो आर्थिक वर्ष २०८१/०८२ मा २ सय ७७ जनाले घरेलु हिंसाबिरुद्धको कानुनी उपचार खोज्दै जिल्ला प्रहरी कार्यालय आएका थिए । यस्तै अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा ३ सय ८ जना महिलाहरु घरेलु हिंसा विरुद्धको कानूनी उपचारमा आएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पछिल्लो दुइ वर्षयता मकवानपुरमा घरेलु हिंसामा परेको भन्दै कानुनी उपचारमा आउनेको सँख्यामा क्रमशः कमि आएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरको तथ्याङ्कले घरेलु हिंसामा कमि आएको तर्फ इङ्गित गरेको हो । यस्तै बाल यौन दुव्र्यवहारमा पनि यस वर्ष ३ जना बालिकाहरु पीडित भएका छन् । अघिल्लो वर्ष बाल यौन दूरुपयोगमा १२ जना बालिकाहरु परेका थिए । यस अवधिमा भएको जबरजस्ती करणीको घटनामा महिलाहरु देखि ११ वर्षीया बालिका समेत पीडित भएका छन् । यस्तो हिंसामा कमी ल्याउन मकवानपुर प्रहरीले विभिन्न संघसँस्थासँगको समन्वयमा तनाव व्यवस्थापन, बालअधिकार, बाल यौन दूव्र्यहार, लागूऔषध दुव्र्यसनसम्बन्धी, महिला हिंसा न्युनीकरण, किशोरी संवाद, सामाजिक कुप्रथा न्युनीकरण साइबर अपराध सम्बन्धी लगायत विविध छलफल, अन्तरक्रिया तथा शिविर, जनचेतनाका लागि पर्चा पम्प्लेट इत्यादिमार्फत प्रचारप्रसारका कार्यक्रम समेत सञ्चालन गरेका छन् । जिल्लामा यस अवधिमा ४५ जनाले आत्महत्या गरेको जिल्ला प्रहरीले जनाएको छ । यस्तै ७ महिनामा २ जनाबिरुद्ध आत्महत्या दुरुत्साहनको उजुरी परेको छ ।










