प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति आउन १० दिन बाँकी छ । यतिखेर देशव्यापी रुपमा उम्मेदवारहरुको प्रचारप्रसार चलिरहेको छ । विगतमा जस्तो ठूला सभा तथा जुलुसका कार्यक्रम कम भए पनि केही सामाजिक सञ्जालमार्फत भ्रमपूर्ण सामग्री सम्प्रेषण गर्ने क्रम बढिरहेको छ । गत भदौमा भएको जेनजी आन्दोलनपछिको विशेष परिस्थितिमा हुन लागेको यस पटकको निर्वाचनमा नयाँ र पुराना शक्ति दावी गरिएका राजनीतिक दलका नेता–कार्यकर्ताबिच केही असमझदारी र मनमुटावका कारण अप्रिय घटना हुनसक्ने जोखिम देखिएको छ । विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा एमालेबिच देखिएको मतभेद र केही अवाञ्छित गतिविधिले निर्वाचनको वातावरण बिग्रनुका साथै शान्ति सुरक्षामा असर पुग्ने आशंका बढाएको छ ।

केही दिनअघि दाङमा नेकपा एमालेको चुनाव चिह्न अंकित झण्डा जलाएको घटनाले एमाले र रास्वपाका कार्यकर्ता तहमा असन्तुष्टि बढाएको छ । रास्वपाको कार्यक्रममा झण्डा जलाइएको हुँदा सोही पार्टीका कार्यकर्ताले एमालेको झण्डा जलाएको दावी एमालेको छ । रास्वपाले आफ्नो कार्यकर्ताबाट झण्डा जलाउने काम नभएको भन्दै घटनामा संलग्नलाई छानविन गरी कारबाही गर्न आग्रह गरेको छ । प्रहरीले घटनामा संलग्नलाई पक्राउ गरेर कारबाही अघि बढाइसकेको भए पनि अन्य दलका चुनाव चिह्नलाई लक्षित गरी अवाञ्छित क्रियाकलाप भएको पाइएको छ । आम नागरिकले कुनै दल वा नेताप्रति असन्तुष्टि व्यक्त गर्न पाउने भए पनि कुनै दलको पहिचान वा प्रतिष्ठामा आघात पुग्ने क्रियाकलाप स्वीकार्य हुँदैन । दलको चुनाव चिह्न वा अन्य पहिचानका सामग्री च्यात्ने, जलाउने, फाल्ने गर्नुका साथै त्यस्ता सामग्रीप्रति गलत इशारा र हाउभाउ प्रदर्शन गर्ने गरेका भिडियो एवम् फोटोहरु सामाजिक सञ्जालमा भेटिइरहेका छन् । एआईको प्रयोग गरेर बनाइएका भ्रमपूर्ण र तथ्यहीन सामग्री र अबोध बालबालिकाको प्रयोग गरेर बनाइएका भिडियोहरुले पनि प्रतिस्पर्धी दलका नेता कार्यकर्ताबिच मतभेद बढाइरहेको छ ।

जेनजी आन्दोलनपछि नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका नेता कार्यकर्ता बिच मनमुटाव बढाएको स्पष्ट छ । काठमाडौंँ महानगरपालिकाको प्रमुख बालेन रास्वपा प्रवेश गरेपछि एमाले र रास्वपाबिचको कटुता बढ्दै गएको अवस्थामा नेकपा एमालेका अध्यक्ष केपी ओलीकै निर्वाचन क्षेत्रबाट बालेनले उम्मेदवारी दिएपछि ओली तथा उनका समर्थक रास्वपा र बालेन तथा रवि लामिछानेप्रति बढी नै उग्र बनिरहेका छन् । दाङमा चुनावचिह्न अंकित झण्डा जलाएको विरोधमा एमाले निकट विद्यार्थी संगठन तथा अन्य भातृ संगठनले जुलुश नै निकालेर रास्वपालाई चुनौती दिनुले दुई पार्टीबिच मुठभेडको अवस्था आउने जोखिम देखिएको छ ।

नयाँ र पुराना भनिएका राजनीतिक शक्तिबिच चुनावी प्रतिस्पर्धा तिब्र बन्दै जाँदा दलका नेतृत्व तथा कार्यकर्ता सचेत र संयमित बन्नुपर्ने देखिन्छ । नयाँ र पुराना दलबिच हुने चुनावी प्रतिस्पर्धालाई शान्तिपूर्ण बनाउन र मुठभेडको अवस्था आउन नदिन सुरक्षा निकायले थप सतर्कता अपनाउनु आवश्यक छ । सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट एक–अर्कामा भ्रम फैलाउन खोज्नु, निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका दल वा उम्मेदवारप्रति तथ्यहीन आरोप–प्रत्यारोप लगाउनु, निषेधको राजनीति गर्न खोज्नु लोकतान्त्रिक संस्कार हुन सक्दैन । निर्वाचन गतिविधिमा नकारात्मक असर पर्ने खालका अभिव्यक्ति र क्रियाकलाप नरोकिँदा निर्वाचन शान्तिपूर्ण र भयरहीत वातावरणमा नहुेन हो कि भन्ने आशंका रहन्छ । राजनीतिक दलका नेतृत्व नै त्रासमा रहनुप¥यो भने आम मतदाता ढुक्कसँग निर्वाचनमा सहभागी हुन सक्दैनन् । उम्मेदवार तथा दललाई लक्षित अवाञ्छित क्रियाकलाप हुन नदिन राजनीतिक दल र नेतृत्व अझ बढी संयम हुनु आवश्यक देखिन्छ ।