हेटौँडा : हेटौँडा–५, राईटोलमा खानेपानी मुहान व्यवस्थापन तथा पानी ट्याङ्की निर्माण कार्य सुरु भएको छ । बागमती प्रदेश सरकारको बजेटमा बिहिबारदेखि ट्याङ्की निर्माणको कार्य सुरु गरिएको हो ।
बागमती प्रदेश सरकारले १० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । आयोजनाको निर्माण कार्य स्थानीय उपभोक्ता समितिमार्फत भइरहेको हेटौँडा–५ का वडाध्यक्ष सुशील घिमिरेले जानकारी दिनुभयो । वडाध्यक्ष घिमिरेका अनुसार आगामी एक हप्ताभित्र निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
खानेपानीको मुहानलाई व्यवस्थित र नयाँ ट्याङ्की निर्माण भएपछि राईटोलका १ सय ५० घरधुरी प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन् । पानी भण्डारणका लागि निर्माण हुन लागेको ट्याङ्कीको क्षमता ५० हजार लिटर रहेको वडाध्यक्ष घिमिरेले बताउनुभयो । लामो समयदेखि खानेपानीको उचित व्यवस्थापनको पर्खाइमा रहेका स्थानीयहरू आयोजना सुरु भएपछि उत्साहित भएका छन् ।
