
हेटौँडा : नेपाल कृषि सहकारी केन्द्रिय संघले सरकारी संयन्त्रसहित मकवानपुर र चितवन जिल्लाका साना किसान कृषि सहकारी संस्थाहरुको अवलोकन गरेको छ । कृषि सहकारीको समस्या तथा उपलब्धीलाई अध्ययन अनुगमन गर्नका लागि संघले बुधबारदेखि २ दिने कार्यक्रम अन्तर्गत अवलोकन भ्रमण गरेका हो ।
अवलोकन भ्रमणमा नेपाल कृषि सहकारी संघका अध्यक्ष एकराज उप्रेतीसहित संघीय सरकारको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव मदन भुजेल, सहकारी विभागका उपरजिष्ट्रार शशी लम्साल समेतको सहभागिता रहेको थियो । भ्रमणका सिलसिलामा मकवानपुरको बसामाडी साना किसान कृषि सहकारी संस्थाले कृषि सहकारीको महत्व, समस्याहरु तथा हालसम्मको उपलब्धिहरु बारे सैद्धान्तिक प्रस्तुतीकरण गरेको थियो । यसपछि टोलीले मनहरी गाँउपालिकास्थित मनहरी साना किसान कृषि सहकारी संस्थाले गर्दै आएको एकीकृत दुध उत्पादन र धान उत्पादनबारे अनुगमन भ्रमण गरिएको थियो । सो कृषि सहकारी संस्थाले दैनिक ५५ सय लिटर दुध उत्पादन गरी दैनिक ४ लाख रुपैयाँको दुध बिक्रि गर्ने गरेको पाइएको संघका अध्यक्ष एकराज उप्रेतीले जानकारी दिनुभयो ।
यस्तै बुधबार नै टोलीले चितवन जिल्लाका तीनवटा साना किसान सहकारी संस्थाका क्रियाकलापहरु अवलोकन गरेको थियो । चितवनको राप्ती नगरपालिका–१ स्थित पिप्ले साना किसान कृषि सहकारी संस्थाले स्थानीय आफ्ना सदस्यहरुलाई संस्थामार्फत नै उन्नत तोरीको बीउ बिक्री वितरण गरी कृषकहरुद्वारा उत्पादन गरिसकेपछि संस्थाले नै खरिद गरी बजारमूल्यभन्दा सस्तोमा सदस्यहरुलाई तेल बिक्रि गर्ने गरेको पाइएको अध्यक्ष उप्रेतीले बताउनुभयो ।
यस्तै चितवनकै वीरेन्द्रनगर साना किसान कृषि सहकारीले ४ बिगाहा खेतमा धान उत्पादन गर्दै आएकोमा १ बिगाहामा भने धानको मूल बीउ उत्पादन गरेको छ । यस्तै चितवनको पठार महिला साना किसान कृषि सहकारीले भने ६० बिगाहा खेतमा सामूहिक रुपमा धानको मूल बीउ उत्पादन तथा प्याकिङको उद्योग समेत सञ्चालन गरेको पाइएको अध्यक्ष उप्रेतीले जानकारी दिनुभयो । युवाहरु बिदेशिने क्रमपछि जग्गा बाँझो नराख्ने उद्देश्यले कार्यक्रम अघि बढाएको उहाँले बताउनुभयो । अवलोकन भ्रमणका क्रममा महिला सहकारी संस्थाले आधुनिक किसिमले मेसिनबाट धान रोप्ने तयारीका लागि ट्रेमा धानको बीउ उत्पादन गरेको छ । सहकारीको यो प्रविधि नेपालको परिवेशमा असाधारण र आधुनिक रहेको अवलोकन टोलीले महसुस गरेको जनाएको छ ।
बिहिबारसम्म अन्य साना किसान कृषि सहकारी संस्थाको अवलोकन भ्रमण गर्नुको उद्देश्य सरकारले सबै सहकारीलाई एकै सोच्ने गरेकोले कृषि सहकारीको फरकपना बारे सरकारी संयन्त्रलाई प्रत्यक्ष अवलोकन गराउनु रहेको अध्यक्ष उप्रेतीले जानकारी दिनुभयो । यि अवलोकन भ्रमणले कृषि सहकारीको भूमिका तथा यथार्य अन्य सहकारी संस्थाको भन्दा फरक रहेकोले भविष्यमा नेपाल सरकारले यथार्थलाई बुझेर कृषि तथा साना किसान सहकारीबारे फरक नीति निर्धारण गर्ने अपेक्षा समेत उहाँले गर्नुभएको छ ।









